प्रविधियुक्त शिक्षामा उदय माविको फड्को, हरेक शिक्षकको हातमा ल्यापटप



काठमाडौं । शिक्षकलाई प्रविधिसँग नजिक ल्याउन र कक्षा क्रियाकलापमा प्रविधिसँग जोड्नका लागि गगुल्मीको चन्द्रकोट गाउँपालिकामा रहेको उदय मावि विद्यालयले एक शिक्षक एक ल्यापटपको नीति अगाडी सारेको छ । शिक्षकले एक बर्षभित्र रकम चुक्ता गर्ने शर्तनामामा विद्यालयले ल्यापटपको लागि बजेट व्यवस्थापन गरेको हो । शुरुमा विद्यालयले ल्यापटप किनिदिने र उक्त ल्यापटपको रकम बर्षदिनभित्र चार किस्तामा बिना ब्याज शिक्षकले तिर्ने शर्त बनाइएको विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार गैरेले बताए ।

विद्यालय व्यवस्थापन समितिले ल्यापटप लिनचाहने शिक्षकलाई विद्यालयको आन्तरिक कोषको बजेट परिचालन गरेर किन्ने व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिमलाल श्रेष्ठ बताउँछन् । आर्थिक पारदर्शिताका लागि विद्यालयले कम्प्यूटर सप्लायर्ससँग कोटेशन संकलन गरेको थियो ।

चालु आर्थिक बर्षको साउन महिनाबाट एक शिक्षक एक ल्यापटपको व्यवस्था गरिएको हो । समितिको निर्णयसँगै ११ जना शिक्षकले नयाँ ल्यापटप लिइसकेका छन् । जसको लागि विद्यालयले ८ लाख ८० हजार विद्यालयको कोषको रकम सापटीको रुपमा प्रयोगमा ल्याएको छ । विद्यालयका १९ जना शिक्षकसँग यसअघि नै ल्यापटप रहेको थियो । विद्यालयका अनुसार अहिले विद्यालयमा १० जना बाहेक सबै शिक्षकसँग ल्यापटप छ ।

शिक्षकलाई ल्यापटप र प्रविधि सम्बन्धी सीप दिनका लागि विद्यालयले पाँच दिनको कम्प्यूटर शिक्षा र प्रविधि प्रयोग सम्बन्धी अभ्यास तालिम प्रदान गरिसकेको छ । विद्यार्थीका लागि कम्प्यूटर ल्याबको व्यवस्थापन गरिसकेको छ ।