फलोअपको कार्यक्रमबाट सीप सिक्नेलाई जोड्न सुझाव



बुटवल । सीप सिकेका व्यक्तिहरूको फलोअपका कार्यक्रम हुनुपर्ने सरोकारवालाहरूले सुझाएका छन् । स्कील्स परियोजना अन्तर्गत सिकेका सीपको प्रयोगका लागि फलोअपको कार्यक्रम हुनुपर्ने उनीहरूको सुझाव थियो । विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रममा प्रदेशस्तरीय समन्वय बैठक तथा समीक्षा कार्यक्रमका सहभागीहरूले उक्त सुझाव दिएका हुन् ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाई, यूरोपियन यूनियनको आर्थिक सहयोग र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को समन्वयमा लुम्बिनी र मधेश प्रदेशमा स्कील्स परियोजना सञ्चालनमा छ । बैठकमा बोल्दै लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले सिकेका सीप व्यक्ति, परिवार र राज्यका लागि उपयोगी हुनेमा दुईमत नभएको बताए । उनले कार्यक्रम नेपाल सरकारको भएको र कार्यान्वयनमा प्रदेश सरकारले समन्वयकारी भूमिका खेलेको बताए । उनले परियोजनाले सीप सिकेपछि उनीहरूको सीप प्रयोगका लागि फलोअपका कार्यक्रम ल्याउन सके बढी फलदायी हुने विश्वास व्यक्त गरे ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले सीपको तालिमले तालिम र उद्योगीमा सकारात्मक सन्देश दिएको बताए । उनले उद्योग वाणिज्य संघले अनलाइन जब पोर्टल चलाइरहेको हुँदा सीप परीक्षणपछि पास हुनेहरूको सूची उपलब्ध गराए आफुहरूले उक्त सूची अनलाइन जव पोर्टलमा राखी उद्योगी र तालिमलाई जोड्नमा पुलको काम गर्ने बताए । शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले परियोजनाको अनुगमनको पाटो दरिलो हुँदा तालिम प्रभावकारी हुन सकेको प्रतिक्रिया दिए । उनले विदेशको दुःख र अनुभवले तालिम लिनेहरूमा छोटो अवधिको तालिम भए पनि प्रभावकारी देखिएको बताए । तालिम लिनेहरुमा स्वरोजगार हुने र स्वदेशमै रोजगारी खोज्छु भन्ने प्रतिवद्धता देखिनु परियोजनाको सुन्दर पक्ष भएको अध्यक्ष मल्लले उल्लेख गरे ।

समन्वय बैठक तथा प्रगति समीक्षामा लुम्बिनी प्रदेशमा ६५० जना विदेशबाट फर्किएका व्यक्तिहरूले १६० घण्टाको सिटिइभिटीको कोर्स पूरा गरिसकेको जानकारी गराएको थियो । तीमध्ये १६८ जनाले स्कील्स टेस्टमा भाग लिइसकेको र ४८२ जना टेस्टको प्रक्रियामा रहेका छन् ।
यूएनडिपीका प्रादेशिक अनुगमन तथा समन्वय विज्ञ विजय जिसीका अनुसार परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रलाई लक्षित गरी ८ वटा व्यवसाय लक्षित तालिम संचालन गरेको थियो । तालिमपछि परियोजनाले स्वरोजगार हुने, स्वदेशभित्रै रोजगारी हुने र वैदेशिक रोजगारमा सीप सिकेर जान सक्ने अपेक्षा लिएको छ । अहिलेसम्मको अनुभवमा धेरैजसो सीप सिकेका व्यक्ति स्वरोजगार र स्वदेशमै रोजगारीमा लाग्ने रुचि भएका भेटिएका छन् ।

कार्यक्रममा शिक्षा तथा खेलकूद मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, मनोज कुमार गैरे, लक्षण ज्ञवाली, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव शारदा बस्याल, सिटिइभिटी लुम्बिनी प्रदेशका मोतीलाल चौधरी, नेपाल घरेलु तथा साना उद्योग महासंघ, लुम्बिनीकी अध्यक्ष शान्ति शर्मालगायतले परियोजनाको विषयमा बोलेका थिए । बैठकमा लुम्बिनी प्रदेशका मन्त्रालयका साथै उद्योगी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

परियोजनाले वैदेशिक रोजगारीबाट फर्किएका (विशेष गरी कोभिड –१९ का कारण विदेशमारोजगारी गुमाएर स्वदेश फर्किएका) नेपाली नागरिकहरूलाई उनीहरूसँग भएकोसीपको पहिचानसहित कार्यस्थलमा आधारित सीप विकास, प्रमाणीकरण र श्रमबजारमा रोजगारीको अवसरका लागि सहजीकरण गरी स्थानीय उत्पादनमा आधारित उद्यमशीलतालाई टेवा पु¥याउनु रहेको छ ।