स्कुल पुग्न तीन घण्टा



गोरखा । स्कुले जीवन रमाइलो हुन्छ भन्ने कुराले धार्चे २ लामाबेंसीकी निरिता घले छक्क पर्छिन्। रुचे पनि नरुचे पनि बिहान ६ बजे खाना खाएर झिस्मिसेमै उकालो लाग्नुपर्छ उनलाई केरौंजा माध्यमिक विद्यालय पुग्न। सधैंदिन सङ्लो हुँदैन, कहिले झरी, कहिले हिमपात। पाइलैपिच्छे जुका टिप्दै, स्कुल पुग्दा कहिले अबेला हुन्छ।

‘कहिले दुःख बिमार भइन्छ। कहिले घरकामले ढिला हुन्छ। तीन घण्टा ठाडो उकालो चढेर स्कुल पुग्दा सर, मिसको गाली खानुपर्छ’, उनी भन्छिन्, ‘बर्खाका बेला अझै के कुरा गरौं, पहिरो भित्रभित्रै हिँड्नुपर्छ।’ स्कुले जीवनमा आफू जस्तै बालबालिकाले खेपेको दुःख सुगमका मान्छेले पत्याउन पनि गाह्रो हुने उनको भनाइ छ।

समान दुःख झेलेर हालसालै स्कुले जीवन पार गरेकी अनिता घलेलाई अहिले स्कुले जीवनतिर फर्केर त्यो दिन सम्झन पनि मन लाग्दैन। ‘लामाबेंसीमा पाँचकक्षासम्म मात्र स्कुल छ। ६ देखि १० कक्षासम्म पढ्न केरौंजागाउँ पुग्नुपर्छ’, भन्छिन्, ‘जति छिटो हिँडे पनि स्कुल पुग्न तीनघण्टा, फर्कन दुई घण्टा ठ्याक्कै लाग्छ। गह्रौं झोला बोकेर बिहान झिस्मिसेमै उकालो चढ्नुपर्छ। घरबाट निस्कँदा पनि अँध्यारै हुन्छ, भरे घर आइपुग्दा पनि अँध्यारै हुन्छ।’

कक्षा १० मा पुगेपछि विद्यालयले निःशुल्क होस्टलमा राख्छ। तर, होस्टलमा पनि भिन्दै दुःख हुने विद्यार्थी बताउँछन्। होस्टलमा आधारभूत सुविधाको पनि अभाव छ। ‘होस्टलमा बस्न पनि सजिलो छैन। सिरक डसना पुग्दो छैन। मंसिर लागेपछि ठिहिरो बढ्न थाल्छ। न ज्यानमा बाक्लो लुगा, न ओछ्यानमा’, उनी भन्छिन्, ‘हिउँदमा अलिअलि पानी पर्न थालेपछि हिउँ पर्न थाल्छ। पुस, माघ कसरी कटाउने ?’

होस्टलमा बस्नेलाई दिउँसो खाजाको व्यवस्था पनि नभएको उनको भनाइ छ। हुनेले त घरबाटै जोहो गर्छन्। नसक्नेनलाई साह्रै समस्या भएको उनी बताउँछिन्। सानोमै आमाले छोडेको र बुबा पनि शारीरिक रूपमा अशक्त भएकाले स्कुले जीवन सकेपछि कलेज जीवन सुरु नगरेको उनले बताइन्।

पढ्नैपर्ने बाध्यताले गाँजेर मात्र यही दुःख झेलिरहेका छन्, कक्षा ८ मा पढ्ने सुरेश घलेले पनि। हिउँदमा भन्दा उनलाई बर्खाका बेला अत्यास लाग्छ। ‘जताततै पहिरोले हिँड्ने बाटो हुँदैन। तल पहिरो गइरहेको हुन्छ, माथिबाट बाटोमा ढुंगा खसिरहेको हुन्छ’, उनी भन्छन्, ‘पहिरै पहिरोमा यति लामो बाटो ज्यान जोगाउँनै मुस्किल पर्छ।’ नपढौं, जीवन अन्धकार होला भन्ने पिर। पढौं स्कुल आउन जान सजिलो छैन यस्तै पीर परेको छ अर्का कक्षा ७ मा पढ्ने सुजन गुरुङलाई। ‘उठ्नेबित्तिकै खाएको खाना स्कुल जाँदाजाँदै बाटोमै सकिन्छ र भोक लाग्छ’, उनी भन्छन्, ‘झोलाभरि किताब र खाजा मकै हुन्छ। मकैले अलिअलि भोक मर्छ।’

केरौंजा गाउँ र केरौंजाबेंसीका बासिन्दा पहिरोको डरले विस्थापित भएर लामाबेंसीमा बस्न आएका छन्। यहाँ करिब १ सय ३० घरधुरी बसोबास गर्छन्। शिव आधारभूत विद्यालयको पढाइ सकेपछि यहाँबाट केरौंजा माविमा करिब ४० जना बालबालिका पढ्न जाने सुजन गुरुङको भनाइ छ। कक्षा ८ र कक्षा १० का बालबालिकालाई होस्टलमा निःशुल्क रूपमा राख्ने व्यवस्था गरिएको प्रधानाध्यापक सुन्दर खनाल बताउँछन्।

‘सरकारले ४० जनालाई होस्टलमा राख्नका लागि हिमाली छात्रवृत्ति कोटा उपलब्ध गराएको छ। उहिया, रुञ्चेत, हुल्चुक, केरौंजाबेंसी, लामाबेंसीदेखिका विद्यार्थी यहाँ पढ्न आउँछन्’, उनी भन्छन्, ‘जति कम गर्दा पनि ५०, ५५ जना नराखी सुखै छैन। त्यसैले भनेजस्तो सुविधा दिन मुस्किल भएको हो।’ दुर्गमको दुःख यस्तै रहेको उनको भनाइ छ। -अन्नपूर्ण पोष्टबाट