यो विषय अभिभावक शिक्षा अथवा अभिभावकत्वसँग सम्बन्धित छ । यस आलेखमा आधुनिक शिक्षाको कोणबाट र अर्को आफैँले आफ्नो अध्ययन, अनुभव, अभ्यास, साधनाबाट संश्लेषण गरेको तथ्यहरूको कोणबाट धारणाहरू राख्न खोजिएको छ । यो अलि उचाइको र आध्यात्मको कोणबाट हुनेछ । आध्यात्म र धर्म फरक कुरा हुन् । मानिस शरीर र आत्माको संयुक्त अवस्था हो । ब्रम्हाण्डको यथार्थ पनि त्यही हो । ब्रम्हाण्डको सङ्क्षेपिकृत रूप हाम्रो शरीर हो । ब्रह्माण्डको अध्ययन, अनुभूति शरीरमार्फत नै गर्ने हो ।
आधुनिक शिक्षाको कोण
प्यारेन्टिङ (Parenting) अभिभावकलाई शिक्षा अथवा बच्चाको अभिभावकत्वको अर्थमा पनि हेर्न सकिन्छ । आधुनिक शिक्षाभित्रै अभिभावक शिक्षा वा अभिभावकत्वको खोजी भइरहेको छ । अहिलेको आधुनिक भनिएको शिक्षा अमेरिकन–ब्रिटिस शिक्षा हो । आधुनिक शिक्षाअघि ज्ञान लिनेदिने अरू पद्धतिहरू पनि थिए । हाम्रै पनि गुरुकुल, गोन्पा, मदरसालगायतका शिक्षा पद्धति थिए । घरघरमा ज्ञान, संस्कृति–संस्कारको पुस्तान्तरण हुन्थ्यो ।
आधुनिक शिक्षाको अर्थमा प्यारेन्टिङ भनेको अभिभावक तथा अभिभावक हुने प्रक्रिया हो । यो बच्चा जन्माउने योजना गर्नेदेखि जन्म दिने, हेरचाह गर्ने ज्ञान सीपसँग सम्बन्धित छ । अभिभावकत्व जीवनभर बच्चाका समग्र विकासमा सहयोगी हुने प्रक्रिया हो । यो परिवार र समाजको पनि भूमिकाको कुरा हो । अभिभावकत्व अभिभावकको परिपकत्वता, स्थिर र राम्रो पारिवारिक जीवन असल अभिभावकत्वको अर्को महत्वपूर्ण पक्ष हो । यस्तै प्रभावकारी प्यारेन्टिङको सन्दर्भमा हेर्दा अभिभावक बच्चा जन्माउने इच्छित हो कि होइन, गर्भधारण इच्छित हो कि होइन भन्ने पक्ष पनि महत्वपूर्ण हुन्छ । अभिभावकको बच्चाप्रतिको अपेक्षा र बच्चाको शारीरिक तथा मानसिक अवस्थाले ठूलो प्रभाव पार्छन् ।
बच्चालाई उनीहरूको उमेरसँगै आएका शारीरिक, मानसिक बदलावहरूको साक्षी बनेर सहयोगी बन्नु, जीवनका गाँठाहरू फुकाउन सहयोग गर्नु, साथी बन्नु, बच्चालाई हस्तक्षेप नगरी बाटो देखाउनु, उनीहरूका सम्भावनालाई विकास गर्न अथवा उजागर गर्न मद्दत गर्नु, सहयोगीको भूमिकामा रहनु नै प्यारेन्टिङ हो । किनभने बच्चा हाम्रै भए पनि उनीहरू जे बन्ने सम्भावना लिएर आएका हुन् त्यही बन्न खोज्छन्, अभिभावक केवल उनीहरूको चाहना र क्षमताबमोजिम वातावरण बनाउन मद्दत गर्ने सहयोगी मात्र हुन् । प्रत्येक व्यक्ति खास प्रयोजनका लागि जन्मन्छ भनिन्छ, तर म कुन प्रयोजनका लागि आको हुँ भन्ने थाहा नपाउँदै अथवा बरालिँदै अधिकांश मान्छेको जीवन सकिन्छ ।
आधुनिक शिक्षा बच्चालाई मनपरेको छैन । मनपरेको भए पढ्नमा बच्चालाई रुचि हुन्थ्यो । अभिभावकसँग यस विषयमा दृष्टिकोण छैन, उनीहरू केवल पढ–पढ भन्छन् । अथवा अभिभावक आफूलाई जे राम्रो लागेको छ, जे ठान्छन्, बच्चालाई पनि त्यही हुन, बन्न जबर्जस्ती गरिरहेका हुन्छन् । यहाँनेर प्यारेन्टिङको जरुरत पर्छ । अभिभावकका लागि प्यारेन्टिङ जरुरी छ तर अभिभावक स्वयं जागरुक नभई यो त्यति सम्भव कुरा होइन । विद्यालय पद्धतिमा अभिभावक शिक्षाको आवश्यकता किन हो भने बच्चाको सिकाइ बच्चामा मात्रै निर्भर छैन । बच्चा जो जोसँगको अन्तरसम्बन्धमा छ, तिनको प्रभाव बच्चाको सिकाइमा पर्छ । उसको विकास अन्तरसम्बन्धमा रहेका मानिसको मूल्यमान्यता, दृष्टिकोणमा भर पर्छ । त्यसले बच्चाको चाहना र अन्य भावनात्मक अवस्थालाई प्रभाव पार्छ । त्यो प्रभावले सिकाइसमेत प्रभावित बनाएको हुन्छ ।
बच्चाको उमेर, मनोविज्ञान, पढाइको चापलाई बुझेर व्यवहार गर्ने, वातावरण बनाउने कुरामा अभिभावक शिक्षा अथवा अभिभावकत्वको ठूलो भूमिका हुन्छ । यसमा अभिभावकको बुझाइ, शिक्षा, ज्ञान अथवा उनीहरूको शिक्षाप्रतिको दृष्टिकोणको समेत महत्वपूर्ण भूमिका हुन्छ । व्यावहारिक रूपमा पनि बच्चालाई सिकाइमा सहजीकरण गर्न सक्ने अभिभावक र नसक्ने अभिभावकमा धेरै ठूलो अन्तर हुन्छ । बच्चाको मनोविज्ञानमा असर नपरोस् भनेर पारिवारिक वातावरण राम्रो बनाइराख्ने अभिभावक र पारिवारिक वातावरण सधैँ अस्तव्यस्त बनाउन उद्दत अभिभावक भएको घरको बच्चाको विकासमा धेरै फरक पर्छ ।
अहिलेको आधुनिक शिक्षाको जगजगी भएको समयमा अभिभावक शिक्षा किन चाहियो भन्ने तर्क प्रस्तुत गर्न म यहाँ अहिलेको आधुनिक अथवा अङ्ग्रेजी शिक्षाको कमजोरीहरूबारे चर्चा गर्छु ।
शिक्षा, विद्यालय, शैक्षिक गुणस्तर आदि हामीले जे भनिरहेका छौँ । यो सबै आधुनिक शिक्षाको सन्दर्भको कुरा हो । औद्योगिकीरण वा औद्योगिक क्रान्तिपछिको विश्व बजारलाई जस्तो खालको जनशक्ति चाहिन्थ्यो त्यस्तै जनशक्ति उत्पादन गर्न विद्यालय, शिक्षक प्रशिक्षक, पढाइ, जाँच, प्रमाणपत्र आदिको संरचनागत पद्धति सुरुवात भएको हो । सुरुसुरुमा त विद्यालय संरचना फ्याक्ट्रीजस्ता थिए । अहिले पनि यस्तो शिक्षा व्यक्तिको स्वः अथवा समाजको हितलाई नभएर बजारलाई, नाफालाई, शक्तिलाई लक्षित गरी चलिचलाइएको शिक्षा हो । छिटोभन्दा छिटो, जुन विषय पढ्दा धेरै कमाउने जागिर पाइन्छ त्यही विषय पढ्ने, सजिलै प्रमाणपत्र हासिल गरेर अथवा कम मिहिनेतमा धेरै कमाउने सोचको शिक्षा नै अहिलेको आधुनिक शिक्षा हो । आधुनिक शिक्षाका कमजोरी भए पनि यसका राम्रा पक्षहरू पनि नभएका होइनन् तर यो शिक्षाले काम गर्दैन भनेर प्लेटोकालीन समयदेखि नै अथवा यो शिक्षाको सुरुवातदेखि नै प्रश्न उठेको थियो । । कोरोनाको विश्व महामारीका बीच आधुनिक शिक्षाभित्र खुला र लचक पद्धतिका बारेमा विश्वव्यापी छलफल भएको छ । पम्परागत आधुनिक शिक्षाका बारेमा व्यापक प्रश्न उठ्न थालेको छ ।
बच्चा कसरी हुर्कन्छन् ? यो विशेष प्रश्न हो । मान्छे जीवनको प्रत्येक चरणमा हुर्किरहेको हुन्छ । सिकिरहेको हुन्छ । सौन्दर्यको अनुभव गरिरहेको हुन्छ । बच्चा गर्भावस्थामा एक चरण, त्यसपछि प्रारम्भिक बाल्यावस्थामा अर्को चरण, किशोर, युवा, वयस्क, वृद्धअवस्थामा अर्को चरणमा सिकिरहेको हुन्छ । प्यारेन्टिङभित्र बच्चालाई आधारभूत कुराहरू उपलब्ध गराइदिने, सहयोग गर्ने, ढाडस दिने कुरा त छँदै छ तर त्योभन्दा पनि यो विषय बच्चाको जीवन दर्शन, मूल्यमान्यता, दृष्टिकोण दिने भन्ने कुरा मुख्य हो । तर, यो कसरी दिने भन्ने प्रक्रिया अर्को महत्वपूर्ण पक्ष हो । यो अभिभावकले बच्चालाई दैनिक व्यवहारबाट दिन सक्छन् । अभिभावक बच्चाका लागि आफू पथप्रदर्शक हुनुपर्छ । अभिभावकको दैनिक दिनचर्या, अभिभावकले बच्चा र अरूसँग गरेको व्यवहार आदि बच्चाले सूक्ष्म रूपमा हेरिरहेको हुन्छ । अभिभावकका स–साना व्यवहारहरूले बच्चामा स्थायी मूल्यहरू सिर्जना भइरहेका हुन्छन् । ती दैनिक व्यवहारबाट बच्चालाई जीवन के हो ? जीवनको लक्ष्य के हो ? कुन जीवन आदर्श जीवन हो ? कस्तो जीवन बाँच्ने ? जस्ता जीवन मूल्यबारेको दर्शन हस्तान्तरण गर्न सक्नुपर्छ ।
वास्तवमा मान्छेको विकास सङ्घर्षमा हुने हो । बच्चा कस्तो अन्तरसङ्घर्ष, अन्तरसम्बन्धबाट गुज्रिएर अघि बढेको छ भन्ने कुराले ऊ कति बलियो, फराकिलो र जीवनका यथार्थतासँग परिचित छ भन्ने कुरा निर्धारित हुन्छ ।
बच्चालाई तीन वर्षको उमेरदेखि शान्त रहने, भित्रैदेखि बलियो हुने, सदा प्रसन्न रहने, मिहिनेती बन्ने र रचनात्मक हुनुपर्छ भन्ने कुरा प्रत्यक्ष अप्रत्यक्ष रूपमा अभिमुखीकरण गर्दै जानुपर्छ । यी शब्दहरूको बच्चाको जीवनमा अत्यन्त ठूलो प्रभाव हुन्छ । व्यक्तिको विकास श्रममा आधारित हुन्छ । जति कठोर र विवेकपूर्ण श्रम ग¥यो व्यक्तिको त्यति नै विकास हुन्छ । हामीले जुन भाग्य भन्ने गर्छौं त्यो पनि कुनै न कुनै रूपमा (अघिल्ला वा यसै जन्मका) हाम्रै श्रम (काम)का फल हुन् ।
अभिभावकले बच्चालाई संसारलाई हेर्ने बुझ्ने व्याख्या गर्ने दृष्टिकोण दिन प्रयास गर्नुपर्छ । संसारलाई गतिमा हेर्ने, संसारलाई द्वन्द्वमा हेर्ने, संसारलाई अन्तरसम्बन्धमा हेर्ने, संसारलाई सापेक्षतामा हेर्ने विश्व दृष्टिकोण दिन सक्नुपर्छ । यो आफूले आफैँलाई पनि हेर्ने, संसारका हरेकवस्तु, घटनाक्रम, सुखदुःख सबैलाई हेर्ने, विषयवस्तुलाई हेर्ने विश्वदृष्टिकोण हो । यो जीवनमा हेर्ने, पढाइमा हेर्ने, सफलता विफलतामा हेर्ने ज्यादै प्रभावकारी दृष्टिकोण पनि हो ।
त्यस्तै संसारमा नटासिईकन बाँच्ने कला ध्यान र योगमार्फत सिकाउन खोज्नुपर्छ । आफ्नो क्षमताभन्दा धेरै गुुणा अपेक्षा नगर्न, आफ्ना नमीठा विगतलाई फर्कीफर्की नहेर्न, अथवा फर्कीफर्की हेरेर विक्षिप्त नहुन, आफूलाई कमजोर र निरीह नठान्न र सबभन्दा महत्वपूर्ण कुरा आफ्नो तुलना अरूसँग नगर्न विभिन्न प्रकारले अभिमुखीकरण गर्न सक्नुपर्छ । आफ्नो क्षमताको पूर्ण विकास गर्न प्रयास गर्ने तर अरूसँग प्रतिस्पर्धा नगर्न बारम्बार विभिन्न तरिकाले, सन्दर्भमा, कुराकानीमा ‘स्कुलिङ’ गर्दै जानुपर्छ । बच्चालाई यसका अलावा जीवनका हरेक परिस्थितिमा विवेक प्रयोग गर्न, धैर्य गर्न र आत्मसम्मानको ख्याल गर्न प्रेरणा दिनुपर्छ ।
अलि दार्शनिक कुरा गर्दा हाम्रा अभिभावक को हुन् भन्ने प्रश्न सधैँ उब्जिन्छ । मेरा बा आमा, समग्र परिवार, नातागोता, छरछिमेक, समाज नै अभिभावक हुन् । विद्यालय एउटा शैक्षिक संरचना हो भने समाज एउटा वृहत् स्कुल हो । समग्र पृथ्वी, ब्रह्माण्ड र त्यसको संश्लेषित रूप आफ्नै शरीर पनि एउटा स्कुल हो । हामी यसैबाट सिकिरहेका हुन्छौँ, अनुभूत गरिरहेका हुन्छौँ । हामी यस ब्रह्माण्डमा रहेका शक्ति (भलभचनथ) का विभिन्न स्वरूप छन् जस्तो, ऋजझष्अब िभ्लभचनथ, ल्गअभिबच भ्लभचनथ, भ्भिअतचष्अब िभ्लभचनथ, च्बमष्बलत भ्लभचनथ, ीष्नजत भ्लभचनथ, ःयतष्यल भ्लभचनथ, क्यगलम भ्लभचनथ जस्तै लाइफ इनर्जीसँग जोडिएका छौँ । यो समग्र कस्मिक इनर्जी (ऋयकmष्अ भ्लभचनथ) हाम्रो अभिभावक हो । यो इनर्जीसँग जति हामी जोडिन्छौँ त्यति हामी आनन्दित, खुसी, सफल हुन्छौँ जति टाढा हुन्छौँ त्यति हामी दुःखी र असफल हुन्छौँ ।
आजको दुनियाँमा विशेषगरी युवाहरूका लागि अर्को एउटा महत्वपूर्ण विषयमा यौन ऊर्जाका विशेष अभिमुखीकरण गर्न जरुरी छ । ब्रह्माण्ड वा मानिसको खास यथार्थता भनेको शक्ति र गति हो । व्यक्तिसँग कति शक्ति छ र त्यो शक्तिलाई कति गतिमा (सिर्जनामा) उपयोग गरेको छ भन्ने आधारमा उसको अस्तित्व, योगदान, हैसियत, महत्व रहने हो । मानिससँग भएको शक्ति भनेको यौन ऊर्जा हो । तर, यो ऊर्जा अहिलेको युवा पुस्ताले मनोञ्जनका नाममा नस्ट गरिरहेको छ । यो ऊर्जा अझ ब्रह्मचर्य अभ्यासका बारेमा पनि अभिमुखीकरण गर्न जरुरी छ । ब्रह्मचर्यको अर्थ यौन ऊर्जा सन्तान उत्पादनमा मात्र खर्च गर्ने तर अरू बेला ऊर्जा नष्ट नगरी साधनामा रहने अभ्यासबारे युवा पुस्तालाई अभिमुखीकरण गर्न जरुरी छ । किनभने यो ऊर्जाले पूर्ण हुने र त्यसलाई सिर्जनामा, काममा, योगदानमा अथवा अभियानमा नलगाई मानव जातिले उल्लेखनीय उपलब्धि हासिल गर्न सक्दैन । हिजोका हाम्रा पुर्खाले खानपान, आहारविहार, योग अभ्याससहितको प्याकेजमा ब्रह्मचर्य साधना गर्थे त्यसैले त्यो समयको ज्ञान र योगदानको उचाइ ठूलो थियो । तर, अहिलेको पुस्तामा त्यो ऊर्जा र योगदान दुवै ज्यादै कमजोर देखिएका छन् ।
एउटा व्यक्तिका लागि स्थायी महत्वको विषय भनेको उसको आत्मशुद्धि र उसले समाजलाई गरेको योगदान हो । आत्मसुद्धिको व्यापक अर्थ छ तर साधनाद्वारा काम क्रोध, लोभ, मोह, अहङ्कार, ईष्र्याविनाको शान्त र आनन्दित चेतनाको विकास गर्ने कुरा व्यक्ति मरेर गए पनि ऊसँग रहने सम्पत्ति हो । त्यस्तै उसले आफ्नो समाजलाई के योगदान दिएको छ भन्ने कुराको पनि उसको जीवन, चेतना अथवा आत्माको यात्रामा महत्वपूर्ण विषय हो । तर, भौतिक सम्पत्तिको आर्जन, भौतिक सुखसयल, प्रतिष्ठाका कुराहरू अन्तत्वगत्वा गौण हुन् । यो तथ्यलाई आत्मसात् गर्दै आफ्नो जीवनको आदर्श बनाउने पुस्ता निर्माण गर्नु अहिलेका अभिभावकको मुख्य भूमिका र चुनौती दुवै हो । अहिले हाम्रा बच्चा बजारी प्रभावबाट हुर्किरहेका छन् । यो आधुनिक शिक्षा हो । के हामी अभिभावक शिक्षा अथवा अभिभावकले शिक्षामा केही गर्न सक्छौँ ? आधुनिक शिक्षामा कम महत्व दिइएको पक्ष अभिभावक हो । अभिभावकले चाहेमा विद्यालय अथवा आधुनिक शिक्षाका विकृतिलाई न्यूनीकरण गरी आफ्ना बालबालिकालाई विकृत हुनबाट अथवा उनीहरूको समय र ऊर्जा खेर जानबाट बचाउन सक्थे कि ? हामीले यो अभियान किन नचलाउने ? हाम्रा बालबालिकाको सिकाइ अथवा विकास विद्यालय अथवा शिक्षकले मात्र गर्न सक्दैनन् भन्ने स्पष्ट बुझ्न जरुरी छ ।
-राजकुमार बराल