(पात्र— दिव्याका हजुरबुबा— सर्वेन्द्र ७० वर्ष, दिव्याकी आमा— करुणा ४५ वर्ष, सर्वेन्द्रकी नातिनी तथा करुणाकी छोरी — दिव्या २० वर्ष । स्थान— ग्रामीण परिवेश, दिव्याको पढ्ने कोठा ।)
सर्वेन्द्र— (ढोका ढक्ढकाउँदै) ए नानी, ए नानी ।
दिव्या— (ढोका खोल्दै) हजुर, हजुरबुबा ।
सर्वेन्द्र— (कोठाभित्र पस्दै) होइन आफ्नै घरमा पनि के डेरामा जस्तै चुक्कुल लगाएर बसेकी छ्यौ त ?
दिव्या— एक सोरे भएर पढेका बेलामा कसैले झ्याप्प ढोका खोले भने तर्सन्छु क्या हजुरबुबा । त्यसैले चुक्कुल लगाएकी ।
सर्वेन्द्र— त्यो त वाहना हो नानी । यस्तो फोहर कोठा छ । जोसुकैले सजिलै नदेखून् भनेर चुक्कुल लगाको हो जस्तो छ ।
दिव्या— के फोहर छ र मेरो कोठा हजुरबुबा ? केही कुहे गह्नाएको त छैन ए ।
सर्वेन्द्र— फोहर भनेको कुहे गह्नाएको, झिँगा भन्केको मात्रै होइन नि त नानी । सामानको अव्यवस्थित रखाइ, लथालिङ्ग भताभुङ्ग भएपछि कोठाको वातावरण यसै फोहर देखिन्छ ।
दिव्या— अँस्ति झारको परिभाषा गर्नुभयो । आज फेरि फोहरको परिभाषा । हजुरलाई पनि कति थनथन आउँछ आउँछ । फेरि अरू कराउँदा त टाउकै दुख्छ । हजुरबुबाका थनथन त कति रमाइला कति ! आनन्द आउँछ ।
(हाँसो)
(यत्तिकैमा रेडियोले समाचार भनेको तिर सबैको ध्यान तानिन्छ— ,,, धेरै दिनसम्मको भारी वर्षाले गर्दा बाटो बिग्रिनाले फोहर लिएर ल्यान्डफिल्ड साइट जाने गाडी रोकिएका छन् । विगत ७ दिनदेखि काठमाडौँको फोहर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ । ,,,)
दिव्या— हजुरबुबा, यो काठमाडौँमा फोहर उत्पादन कारखाना नै छ कि क्या हो ? गाडीमै हालेर लैजानुपर्ने फोहर भनेको सुन्दा त मलाई पत्याउनै गाह्रो लाग्छ ।
सर्वेन्द्र— हो नानी, हामी गाउँलेका लागि गाडीका गाडी फोहर भनेको सुन्दा पत्याउन गाह्रै हुन्छ ।
दिव्या— हाम्रा चारवटा भैँसी, चारवटा गाई गोरु, छवटा बाख्राको एक वर्षभरिको मल पनि एक ट्रक हुन्छ कि हुन्न कुन्नी ! त्यहाँ त गाईवस्तु पनि पाल्दैनन् । अनि ट्रकका ट्रक फोहर !
सर्वेन्द्र— नानीले निकै राम्रो कुरा गर्यौ । सहरको कुरा हामी गाउँलेले अनुमानै गर्न सक्तैनौँ ।
दिव्या— सहरबजारमा मान्छे धेरै हुन्छन् । ती मान्छेको दिसा पिसाब बोक्ने त हैन होला, त्यो फोहर बोक्ने गाडीले ?
सर्वेन्द्र— (हाँस्दै) अँ, त्यो त हैन । तर मान्छे धेरै भए पछि कसोकसो फोहर बढिहाल्छ । त्यसैले त एक थुकी सुकी हजार थुकी नदी भन्छन् नि । हो त्यस्तै हो ।
दिव्या— मान्छे थोरै हुँदा पो सबैतिर सरसफाइ गर्न गाह्रो हुन्छ । मान्छे धेरै भएपछि त झन् सबैले सरसफाइ गर्दा अझ सफा पो हुनुपर्ने होइन र हजुरबुबा ?
सर्वेन्द्र— नानीले भनेको ठीक हो । खास गरी सरसफाइसम्बन्धी चेतनाको कमीले नै यस्तो भएको हो ।
दिव्या— विश्वविद्यालय क्याम्पसहरू भएको ठाउँ, हाम्रै देशको राजधानी सहर, पढालेखा मान्छे धेरै भएको ठाउँमा चेतना छैन भन्न त सुहाएन ए हजुरबुबा ।
सर्वेन्द्र— नातिनीले राम्रो कुरा उक्कायौ । पढालेखा भन्नु र चेतनशील भन्नुमा निकै फरक छ नानी । साक्षरा विपरीताश्च राक्षसा इति निश्चितम् भनेर उसै भनेको हो र ?
दिव्या— मैले त पटक्कै बुझिन हजुरबुबा, जे कुराको पनि संस्कृत श्लोक हुन्छ हजुरबुबा ?
सर्वेन्द्र— हा हा हा, यस श्लोकको अंशको मतलब हो पढालेखा मान्छेको बुद्धि विपरीत वा उल्टो भयो भने ऊ जत्तिको खतरनाक राक्षस अरू कोही हुन्न भन्ने ।
दिव्या— हो त नि हजुरबुबा । ठूला ठूला भ्रष्टाचार के अनपढले गरेका छन् र ?
करुणा— ओहो ! आज त बिहानबिहानै नातिनी बाजेका राजनीतिक गफ पो चलेका छन् ए ।
दिव्या— लौ, आमाका कुरा पनि ! हामी फोहर सरसफाइका कुरा गर्दै छौँ, हजुरले राजनीतिक गफ भन्नुहुन्छ ।
करुणा— ए, मैले त भ्रष्टाचार भन्ने सुनेँ । त्यसैले पक्कै पनि राजनीतिका कुरा होलान् भन्ने ठानेर त्यसो भनेँ । मैले के बिराएँ ?
सर्वेन्द्र— करुणाले भनेको पनि ठिकै हो । राजनीति भनेको राज्य व्यवस्था चलाउने नीति हो । त्यही नीति ठीक नभएर त फोहरको समस्या बढेको हो नि !
दिव्या— फोहरको कुरामा पनि किन राजनीति मिसाउनुपर्छ र ? कागज काट्ने बन्चरोले दार काट्ने कैँचीले भने जस्तो !
करुणा— अँस्ति मेरा दाइ आउनुहुँदा केरा खाएर बोक्रो फ्यात्त आँगनमा फाल्नुभयो ।
दिव्या— अँ हो त । अनि त्यो बोक्रो भाइले टप्प टिपेर गोठतिर लग्दा मामाले कस्तो रातो मुख लगाउनुभएको थियो नि आमा !
सर्वेन्द्र— त्यही नै हो नबोलीकन सिकाउने तरिका ।
दिव्या— त्यो सहरमा मेरा भाइ जत्तिको नबोलीकन सिकाउने मान्छे छैनन्, हजुरबुबा ?
करुणा— तिम्रो भाइ जस्ता सिकाउने त पक्कै होलान् तर तिम्रा मामा जत्तिको बुझ्ने मान्छे नभएर होला नि छोरी !
सर्वेन्द्र— सुन्नेले यदि सुन्दैन बोल्नेले मात्र गर्नु के ?
नङ्गाका देशमा धोबी गई पाउँछ काम के ?
हाम्रो समस्या यिनै पङ्तिअनुसारको हो ।
दिव्या— हजुरबुबाले ऐन मौकामा कहिले टुक्का कहिले श्लोक ट्याक्कट्याक्क भनिहाल्नुहुन्छ ।
(हाँसो)
दिव्या— अँ, हजुरबुबा, विश्वमा हाम्राभन्दा कैयौँ गुना ठूला सहर छन् । त्यहाँ फोहरको समस्या भएको सुनिदैन । यहाँ मात्र किन समस्या भएको होला ?
सर्वेन्द्र— नियम परिपालनको अभावले नै यो समस्या आएको हो । उही व्यक्ति विदेश गएका बेला बाटो हिँड्दै सुन्तला खाँदा सुन्तलाका बोक्रा बियाँ गोजीमा हालेर हिँड्छ । जथाभावी मिल्काउन्न । तर यहाँ आएपछि बाटोमै मिल्काउँछ । यस्तो प्रवृत्तिलाई के भन्ने ?
दिव्या— त्यसो भए त बुझ पचाउनेले ल्याएको समस्या रहेछ यो ।
करुणा— हो त । वास्तवमा अशक्त र विरामीले मात्र फाल्नुपर्ने कुरा ठीक ठाउँमा फाल्न सक्तैन । फोहरको मामलामा हाम्रा सहरवासी सबै अशक्त र विरामी जस्ता छन् ।
दिव्या— आमाले साँचो कुरा गर्नुभयो । अँ आमा मैले नबुझेको कुरा छ क्या एउटा ।
करुणा— ल, भन न त ।
दिव्या— प्लास्टिक सड्दैन । त्यसैले यसले वातावरण फोहर गर्छ भन्छन् । सड्ने फोहरले पो फोहर दुर्गन्ध फैलाउँछ । नसड्नेले कसरी फोहर पार्छ र ?
आमा— (हाँस्दै) पहिलो कुरा त तिमीलाई थाहा भइसक्यो कि कुनै पनि वस्तुको अव्यवस्थित रखाइ फोहर हो भन्ने ।
दिव्या— हजुर हो । त्यो त हजुरबुबाले भनिसक्नुभयो ।
करुणा— हो । सड्ने वस्तुभन्दा नसड्ने वस्तु वातावरण फोहर पार्न कसरी जिम्मेवार हुन्छन्, लौ सुन ।
दिव्या— हस् हुन्छ ।
करुणा— सड्ने वस्तुले सड्ने बेलामा केही दुर्गन्ध फैलाउँछ । अनि सडिसकेपछि मल बन्छ, माटो बन्छ । फोहरको समस्या हराउँछ ।
दिव्या— त्यो त हो आमा ।
करुणा— तर नसड्ने वस्तुसित जब सड्ने वस्तु मिसिन्छ तब सड्ने वस्तु पनि छिट्टै सड्न माटोमा मिल्न पाउन्न । अनि फोहर र दुर्गन्ध धेरै लामो समयसम्म रहन्छ ।
दिव्या— ए ए ।
करुणा— तब त्यो फोहर रोग र कीराको घर बनिरहन्छ । अनि त माटो वातावरण दूषित हुन्छ ।
दिव्या— हजुर, बल्ल बुझेँ आमा ।
सर्वेन्द्र— वास्तवमा फोहरलाई व्यवस्थित गर्ने हो भने थुप्रै आय स्रोतका सूत्र भेटाउन सकिन्छ ।
दिव्या— जस्तै कस्ता कस्ता आय स्रोतका सूत्र, हजुरबुबा ?
सर्वेन्द्र— कुहिने फोहरबाट मल बनाउन सकिन्छ, बिजुली निकाल्न सकिन्छ, बायो ग्यास निकाल्न सकिन्छ ।
दिव्या— हजुर हो त ।
सर्वेन्द्र— नकुहिनेलाई विभिन्न तरिकाले पुनः प्रयोग गर्न सकिन्छ ।
दिव्या— एक दुईवटा उदाहरण भनिदिनुस् न हजुरबुबा ।
सर्वेन्द्र— ल, सुन । जस्तै फालिएका प्लास्टिकका कुरा गरौँ ।
दिव्या— हस् हजुरबुबा ।
सर्वेन्द्र— कडा खालको र नरमखालको प्लास्टिक छुट्टाउने । अनि कडाखालको पुनः प्लास्टिकका सामग्री बनाउने कारखानामा पठाउने ।
दिव्या— हजुर ।
सर्वेन्द्र— नरम खालको प्लास्टिकलाई राम्ररी सफा गरी कीटाणुमुक्त पारेर भुइँमा, मेचमा राख्ने नरम चकटीका लागि भित्रपट्टि राख्ने वस्तुको रूपमा प्रयोग गर्ने ।
दिव्या— सफा पनि, हल्का पनि, नरम पनि, सस्तो पनि । कति राम्रो ।
करुणा— विदेशबाट आउने बालबालिकाका खेलौनामा यस्तैयस्तै कुरा हालेर बनाएको हुन्छ । फोहरलाई मोहर बनाउन जानेर नै धनी भएका हुन् उनीहरू ।
सर्वेन्द्र— हो त । उनीहरू कौडीबाट करोड बनाउँछन् । हामी करोडलाई कौडीमा मिल्काउँछौँ ।
दिव्या— हजुर हो । अनि नि हजुरबुबा ।
सर्वेन्द्र— हजुर भन ।
दिव्या— हजुरले सहरमा गाडीमै बोक्नुपर्ने फोहर कसरी बन्छ भन्ने कुरा त भन्दै भन्नुभएन नि !
सर्वेन्द्र— ए, ए । भन्छु भन्दाभन्दै कुरा अन्तैअन्तै पो गएछन् ।
दिव्या— हजुर, हो ।
सर्वेन्द्र— अरू सहरका कुरा गर्नुभन्दा काठमाडौँकै कुरा गरौँ ।
दिव्या— हस् हजुरबुबा ।
सर्वेन्द्र— विभिन्न सञ्चार माध्यमले भनेका छन्— काठमाडौँ उपत्यकामा दैनिक १२ सय टन फोहर निस्कन्छ ।
दिव्या— ओहो, यो त निकै धेरै हो !
सर्वेन्द्र— हो त । अब सुन । काठमाडौँ उपत्यकामा लगभग ५० लाख मान्छे बस्छन् भन्ने अनुमान गर्ने हो भने ती मान्छेले दैनिक सरदर २५० ग्राम ठोस फोहर उत्पादन गरेको हुनुपर्ने देखियो ।
दिव्या— यसमा दिसा पनि पर्छ हजुरबुबा ?
सर्वेन्द्र— अहँ पर्दैन । त्यो त ढलमा बगाएर नदीनालालाई विजोग पारिएको छ नि !
दिव्या— उसो भए त प्रतिव्यक्ति फोहर उत्पादन निकै बढी हो ।
सर्वेन्द्र— हो त । सहरका घर वरिपरि हाम्रो घरमा जस्तै खाली ठाउँ नहुनाले सड्ने फोहर पनि माटोमा मिलाउन सम्भव छैन । त्यसैले फोहरको समस्या डरलाग्दो भएको छ ।
दिव्या— ओहो हाम्रो राजधानी त बर्बाद हुने भयो । विदेशी पर्यटकहरूले के भन्लान् ?
करुणा— अहिले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै बटुल्ने भन्दै छन् । यो गर्न सके भने त धेरै हदसम्म समस्या घट्छ ।
दिव्या— के गर्लान् र खै !
करुणा— गर्नुपर्छ । नगरे दण्ड दिनुपर्छ ।
दिव्या— डन्डा गरे मात्रै । दण्डले त के डराउलान् र सहरियाहरू । जम्मा भएर लाग्छन् नारा लगाउन ।
करुणा— कुरो उही त हो । संस्कृतमा दण्ड नेपालीमा डन्डा ।
सर्वेन्द्र— वास्तवमा हरेक व्यक्ति सचेत भएर सीमित सामान प्रयोग गर्ने हो भने पनि फोहर धेरै हदसम्म घटाउन सकिन्छ । तर हामी जस्ता गाउँलेले भनेको कसले सुन्छ र ?
दिव्या— भन्नुस् न हजुरबुबा, हामी आमाछोरीले त सुन्छौँ नि ।
सर्वेन्द्र— मैले भनुँला, तिमीहरूले सुनौला पनि । तर त्यसको असर भने शून्यको बराबर हुन्छ ।
दिव्या— त्यसो होइन नि हजुरबुबा । सकारात्मक होस् वा नकारात्मक कुरा होस्, त्यसलाई वातावरणमा खोलिदियो भने त्यसको पुतली प्रभाव पर्छ रे ।
सर्वेन्द्र— होइन के रहेछ त्यो पुतली प्रभाव भन्ने कुरा ? मैले त पहिलो पटक पो सुन्दै छु ।
दिव्या— हजुरबुबाले नसुनेको कुरा नातिनीले सिकाउने भई । अचम्म भएन त ।
सर्वेन्द्र— यो अचम्म होइन नानी । यो त धेरै खुसीको कुरा हो । लौ भन त्यो पुतली प्रभाव भनेको के हो ?
दिव्या— हस् हजुरबुबा । एउटा पुतलीले वातावरणमा पखेटा फटफटाउँदा त्यसको तरङ्ग अरूसित जोडिदै गएर शक्तिशाली आँधी ल्याउँछ भन्ने हो । यसलाई अङ्ग्रेजीमा बटरफ्लाइ इफेक्ट भन्छन् ।
सर्वेन्द्र— यो त गजबको सोच रहेछ । सानै प्रयास पनि सघन बन्दै गयो भने सफल भइन्छ भन्ने ।
दिव्या— हजुर हो ।
सर्वेन्द्र— लौ सुन न त मेरो बटरफ्लाइ इफेक्ट ।
दिव्या— (हाँस्दै) हस् भन्नुस् हजुरबुबा ।
सर्वेन्द्र— हरेक व्यक्तिले प्रयोग गर्ने वस्तुको मात्रा घटाउँदै लैजाने सोच गर्ने हो भने फोहर निकै कम गर्न सकिन्छ ।
दिव्या— जस्तै १, २, ३ गरेर उदाहरण दिनुस् है त हजुरबुबा ।
सर्वेन्द्र— हुन्छ । लौ सुन ।
१— घरमा खाना पकाउँदा बरु थोरै कम होस् तर बढी भएर कहिल्यै पनि नफालियोस् भन्ने हेक्का राख्ने । यसो गर्दा खानेकुरा फालिएर आउने फोहर स्वात्तै घट्छ ।
दिव्या— साह्रै राम्रो कुरा । यो एउटा उपाय भयो ।
सर्वेन्द्र— अब दोस्रो सुन ।
दिव्या— हस् हजुरबुबा ।
सर्वेन्द्र— हामीले प्याकिङ गरेका सामान किन्छौँ । ती सामानका बाहिरका खोलले अनावश्यक फोहर बढाउँछन् । विभिन्न सामानहरू प्याक गरेका कार्टुन, सक रेसिस्ट गर्ने स्पन्ज आदि किन्ने ठाउँमै छाडी आउँदा फोहरको मात्रा घट्छ ।
दिव्या— आखिर त्यो पसलेले पनि फोहरमै मिल्काउला । अनि कसरी घट्यो र ?
सर्वेन्द्र— मेरी नातिनीको कति राम्रो तर्क । तर हामीले ती सामान पसलमै छाड्ने हो भने उसले त्यसलाई त्यो सामान बन्ने कारखानातिर पठाउँछ र पुनः प्रयोग हुने अवस्था आउँछ । लौ हेर फोहर मोहरमा रूपान्तरण भएको ।
दिव्या— हो त हजुरबुबा । मलाई निकै चित्त बुझ्यो । बल्ल दुईटा उपाय भए ।
सर्वेन्द्र— खुद्रा वस्तु किनबेचमा प्लास्टिकभन्दा कागजका ठुँगा वा थैला प्रयोग गर्नतिर जोड दिने । सामान किन्न जाँदा आफ्नै कपडाका झोला लिएर जाने गर्ने गर्दा पनि फोहरलाई कम गर्न सकिन्छ ।
दिव्या— खुला वस्तुका लागि त कागजका थैला प्रयोग गरौँला रे । तर बिस्कुट चाउचाउ जस्ता कुरा त कागजमा पोको पार्दा ओसिन्छन् नि हजुरबुबा ।
सर्वेन्द्र— हाम्रा पाला बिस्कुट थिए । यसरी प्लास्टिकमा प्याक गर्ने चलनै थिएन ।
दिव्या— कागजमै प्याक गर्दा ओसिन्नथे हजुरबुबा ?
सर्वेन्द्र— अहँ । मैन लगाएको कागजमा प्याक गरेर आउँथे । हामीले झुरुमझुरुम अवस्थामै खान्थ्यौँ ।
दिव्या— लौ दोस्रो उपाय पनि भयो ।
सर्वेन्द्र— हरेक घरमा दिसापिसाबका लागि सेफ्टिट्याङ्की र अन्य फोहर पानीका लागि सोक्ताको व्यवस्था गरे यसरी नदीनालामा दिसापिसाब बगाउन पर्ने थिएन ।
करुणा— त्यसका लागि त उचित घडेरी हुनुपर्यो नि हजुर । सिमसार, खोलाका किनारमा घर बनाउने अनि सोक्ताका कुरा गरेर कसरी हुन्छ । सोक्ता त इनार जस्तो हुन्छ । त्यहीँकै पानीले भरिन्छ ।
सर्वेन्द्र— तिमीले एकदम ठीक भन्यौ । कमसे कम जहाँ सम्भव हुन्छ त्यहाँ गरे पनि धेरै राम्रो हुन्थ्यो । जमिनको पानीको पनि रिचार्ज हुन्थ्यो ।
दिव्या— हजुरबुबा, यो सोक्ता र जमिनको पानी रिचार्ज भन्ने कुरा त मैले बुझिनँ ।
सर्वेन्द्र— भान्सा, बाथरुमबाट निस्केको पानी पिँदमा सिमेन्ट नलगाएको खाडलमा जम्मा गर्ने गर्यो भने त्यो पानी जमिनमा शोषिन्छ । यस्ता खाडललाई सोक्ता भन्छन् ।
दिव्या— ए ए । अनि जमिन रिचार्ज भनेको के हो नि ?
सर्वेन्द्र— चापाकल, बोरिङबाट जमिनको पानी निकालिन्छ नि हैन ?
दिव्या— हजुर हो ।
सर्वेन्द्र— वर्षाको पानी, हामीले प्रयोग गर्दा माटोमा पोखिएको पानी पचेर शोषिएर जमिनभित्र जान्छ र जमिनको पानीमा मिसिन्छ । यसैलाई रिचार्ज भएको वा आपूरण भएको भन्छन् ।
दिव्या— ओहो ! वातावरण सन्तुलनमा ल्याउन त केके सोच्नुपर्ने रहेछ केके ?
सर्वेन्द्र— हो त । अब अर्को उपाय सुन ।
दिव्या— हस् हजुरबुबा । यो चौथो उपाय ।
सर्वेन्द्र— हो । धेरै फेसनेबल नबनेर सादा पोसाकको आनीबानी विकास गर्दा पनि फोहरलाई निकै घटाउन सकिन्छ ।
करुणा— बुबाले भनेको मलाई निकै घत लाग्यो । म एक पटक बुटवल गएको बखत फोहरका थुप्रामा राम्रा राम्रा झोला, कपडा देखेकी थिएँ । त्यसरी कपडा नाश भएको देखेर मलाई अहिलेसम्म पनि थक्कथक्क लाग्छ ।
दिव्या— एक पटक भोजमा लगाएर गएका लुगा अर्को पटक लगाएर जान हुन्न रे सहरमा । अनि लुगाकै फोहर बढ्दैन त ?
सर्वेन्द्र— तडकभडकविनाको सम्यक र संतुलित चालचलनले फोहर घटाउन निकै सहयोग गर्छ । नानी, फोहर व्यवस्थापन सही ढङ्गबाट भएन भने वातावरण खलबलिन्छ र त्यसको असर पृथ्वीका जीवजन्तु वनस्पतिमा पर्छ । त्यसैले हामी सबै सावधान हुनु जरुरी छ ।
करुणा— अवश्यै पनि सबैले सोच्नु जरुरी छ ।
दिव्या— लौ मेरा हजुरबुबाका यी सकारात्मक सोचको बटरफ्लाइ इफेक्ट काठमाडौँसम्म जाओस् र फोहरको समस्या समाधानका लागि सकारात्मक आँधी ल्याओस् ।
सर्वेन्द्र— धन्यवाद नानी । तिम्रा शुभेच्छा पूरा भए कति जाती हुन्थ्यो ।