शिक्षामा के हो कोहलपुरबाट सिक्ने सुत्र ?



कुनै स्थानसँग भएका सबलता र सम्भावनाहरुलाई आधार बनाएर त्यो स्थानले आफ्नो भविष्य कस्तो बनाउने भन्ने सोचलाई आफ्ना योजनाहरु निर्माण गरी कार्यान्वयनलाई प्रभावकारी बनाउने गर्दछ । त्यही गरिरहेको छ कोहलपुरले । कोहलपुर आफैमा पनि शैक्षिक हिसावले अहिले जे छ त्यसलाई कमसल भन्न मिल्दैन । बालबालिका र अभिभावकको रोजाइका केही सामुदायिक र संस्थागत विद्यालयहरु अहिले पनि कोहलपुरमा छन् । अहिले पनि कोहलपुर भन्दा बाहिरका पालिका र जिल्लाका अभिभावकहरुले बालबालिकाको अध्ययनको निम्ति कोहलपुरलाई छनोट गर्ने गरेको यथार्थलाई लुकाउन मिल्दैन । यद्यपि शिक्षाको निम्ति अहिलेको परिवेश सम्भावनायुक्त भए पनि पर्याप्त भने छैन । यसै कुरालाई मध्यनजर राखी नीति, कार्यक्रम र बजेट अनुमान स्वीकृत गर्ने क्रममा कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७९ साल असार ८ गते सम्पन्न एघारौं नगरसभाले कोहलपुरलाई शैक्षिक हबको खाका अनुसार विस्तृत गुरु योजना निर्माण गरी मूर्त रुप प्रदान गरिनेछ भन्ने कुरा उल्लेख छ । विहानीले दिनको झल्को दिन्छ भने झै कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गर्नका लागि नगरपालिकाले केही कार्यक्रमहरु अघि सारेको अवस्था छ । अरु पालिकाहरुलाई पनि आफ्नो पालिकाको शिक्षाको स्तर उकास्न काम लाग्न सक्छ भन्ने मनसायले यो पङ्क्तिकारबाट कोहलपुरले अघि सारेका शैक्षिक गतिविधिहरुलाई प्रस्तुत आलेखमा समेट्ने प्रयास गरिएको छ ।

कोहलपुरले आर्थिक वर्ष २०७९/८० को बजेट र कार्यक्रममा शिक्षा क्षेत्रको सामान्यीकरण तर्फको बजेटलाई सात प्रतिसतबाट बढाएर बाह्र प्रतिसत बनाएको छ र पाँच वर्षको अवधिमा यसलाई बढाउदै कम्तीमा बीस प्रतिसत पु¥याउने लक्ष्य लिएको छ । प्रधानाध्यापकको प्रस्तावको आधारमा विद्यालयलाई शैक्षिक गुणस्तरमा सुधारका लागि प्रोत्साहित गर्नका लागि मेरो विद्यालय, मेरो जिम्मेवारी कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश र संघले माध्यमिक विद्यालयलाई नमूना विद्यालयको अवधारणा अघि सारेको अवस्थामा कोहलपुरले आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाउने कार्यक्रम चालु वर्षदेखि नै सञ्चालनमा ल्याएको छ । कोहलपुरको आफ्नो परिवेश सुहाउदो आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरी चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइसकेको अवस्था छ । चालु आर्थिक वर्षमै कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गर्ने गरी शिक्षासम्बन्धी आवधिक एवम् गुरुयोजना बनाउने कार्यसमेत हुने गरी बजेटको व्यवस्था गरिएको छ । शैक्षिक हब बनाउने कार्यका लागि योजना निर्माणमा सहयोग पुग्ने गरी नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिहरुको सहभागितामा शिक्षामा सुधारका लागि प्रतिबद्धताहरुसमेत जारी गर्ने काम भएको छ ।

प्रतिबद्धतालाई दुई खण्डमा विभाजन गरिएको छ – नगरपालिकाले गरेका शैक्षिक प्रतिबद्धता र विद्यालयका प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिले गरेका प्रतिबद्धता । नगरपालिकाले गरेका प्रतिबद्धता अन्तर्गत सबै विद्यालयहरूलाई अभावमुक्त थलोको रुपमा विकास गर्ने, आवधिक शिक्षा योजना निर्माण गरी कार्यान्वयन गर्ने, विद्यालयहरूलाई धुमपान, मध्यपान, लागू औषध र पत्रु खाना अर्थात जङ्क फुड निषेधित क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय पाठ्यक्रमलाई समसामयिक बनाई तदनुसारका स्रोतसामग्री र पाठ्यपुस्तकको विकास गरी लागू गर्ने, विद्यालयलाई राजनीतिक हस्तक्षेत्र एवम् आग्रह र पूर्वाग्रहको हिसाबले मुक्त क्षेत्रको रुपमा विकास गर्ने, विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा योग्य तथा सक्षम शिक्षकलाई प्रधानाध्यापक बनाउने र प्रधानाध्यापकसँग करारसम्झौता गरी सोही आधारमा स्वतन्त्र रुपमा काम गर्नका लागि सहयोग गर्ने, प्रधानाध्यापकका निम्ति उनीहरूले खाईपाई आएको तलबको निश्चित प्रतिशतको आधारमा प्रोत्साहन भत्ता थप गर्ने र उत्कृष्ट प्रधानाध्यापकलाई पुरष्कृत गर्ने, शिक्षक दरबन्दी रिक्त भएको बढीमा एक हप्ताभित्र शिक्षक पदपूर्ति हुने गरी आवश्यक कार्यविधि बनाई कार्यान्वयन गर्न विद्यालयलाई सहजीकरण गर्ने प्रतिबद्धताहरु प्रमुख रुपमा रहेका छन् ।

यसका साथै शिक्षक दरबन्दी कम भएको कारणले कुनै पनि शिक्षकले एक दिनमा पाँच पिरियडभन्दा बढी शिक्षण गर्नु पर्ने अवस्थामा पाँच पिरियड भन्दा बढी शिक्षण गरेको पिरियडका निम्ति थप पारिश्रमिकको व्यवस्था गर्ने, विज्ञहरु सम्मिलित तेस्रोपक्षबाट विद्यालयको अनुगमन कार्यलाई प्रभावकारी बनाउने, अनुगमन प्रतिवेदनका आधारमा विद्यालयमा गर्नुपर्ने आवश्यक कार्वाहीका निम्ति शून्य सहनशीलताका साथ अघि बढ्ने, विद्यालयहरूलाई प्रविधिको हिसाबले साधन र स्रोत सम्पन्न बनाउने र प्रविधिले संशाधनयुक्त बनाई स्मार्ट कक्षा संचालनका लागि उपयुक्त कक्षाकोठाहरु निर्माण गर्ने, जोडकोषको आधारमा विद्यालय र शिक्षकहरूलाई ल्यापटप उपलब्ध गराउने, शिक्षकहरूलाई प्रविधिसम्बन्धी सीप सिक्नका लागि तालिम तथा अन्य अवसरहरूको सिर्जना गर्ने र त्यत्ति गर्दा पनि कक्षाकोठा र शिक्षण सिकाइमा प्रविधिको प्रयोगमा चासो नराख्ने शिक्षकका निम्ति पेशाबाट प्रोत्साहनयुक्त किसिमबाट बहिर्गमनका लागि उपयुक्त वातावरणकोे विकास गर्ने, पेशागत विकासको दृष्टिकोणले समेत कुनै शिक्षक एउटैै विद्यालयमा लामो समयसम्म काम गर्ने प्रचलनको अन्त्य गरी शिक्षक सरुवालाई कानूनद्वारा आवधिक, पारदर्शी, प्रोत्साहनमूलक र अनुमानयोग्य बनाई कार्यान्वयन गर्ने प्रतिबद्धताहरु पनि रहेका छन् ।

बालबालिकाका नातेदार र संघसंस्थासँगको सहकार्यका आधारमा अभिभावकविहीन बालबालिकाका निम्ति गाँस, बास, कपास र शिक्षा एवम् स्वास्थ्योपचारको सुनिश्चितताका लागि आवश्यक प्रबन्ध गर्ने, नगरपालिकामा मनोसामाजिक परामर्श प्रदान गर्ने जनशक्तिको व्यवस्था गरी विद्यार्थीहरूका निम्ति आवश्यकताका आधारमा त्यस्ता जनशक्तिबाट परामर्श सेवा उपलब्ध गराउने, विद्यालय व्यवस्थापन समितिको सिफारिस र प्रधानाध्यापकको प्रस्तावका आधारमा विद्यालयमा विभिन्न शैक्षिक क्रियाकलापहरु– शैक्षिक भ्रमण, शैक्षिक सामग्री निर्माण र सङ्कलन, विद्यालयको स्मारिका एवम् भित्ते पत्रिका प्रकाशन, जिम्मेवार अभिभावक, समर्पित शिक्षक र प्रतिभावान विद्यार्र्थीहरूका निम्ति पुरस्कार र प्रोत्साहन कार्यक्रम सञ्चालन, खेलकुद तथा साङ्गीतिक सामग्रीको व्यवस्थापन, विद्यालयमा तरकारी खेती, वृक्षारोपण, विद्यार्र्थीहरूबाट आत्मनिर्भर र आयआर्जन कार्यक्रम लगायत सदनात्मक र विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन आदिका लागि नम्र्स बनाइ बजेट प्रदान, अन्य रचनात्मक कार्यका अतिरिक्त विद्यालयको आन्तरिक स्रोत प्रवर्धन गर्ने प्रधानाध्यापक र विव्यसलाई सम्मान र पुरष्कृत गर्ने आदि जस्ता कार्यक्रमहरुलाई २५ बूँदामा समेटेर कोहलपुर नगरपालिकाले आफ्ना शैक्षिक प्रतिबद्धताहरु सार्वजनिक गरेको छ ।

त्यसरी नै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले गरेका शैक्षिक प्रतिबद्धताहरुमा आफूले अध्यापन गर्ने हरेक बालबालिकाहरूमा भएका सबल पक्ष, सक्षमता र सम्भावनाहरूको पहिचान गरी तदनुसार उनीहरूका निम्ति भविष्यको परिकल्पना गरेर लक्ष्यमा पुग्नका लागि आवश्यक पर्ने, बालबालिकाको खुशी र प्रगतिका लागि अभिभावकहरूसँगको भलाकुसारी र अन्तरक्रियालाई निरन्तरता दिने, बालबालिकाहरू अतुलनीय हुन्छन भन्ने कुरालाई आत्मसात गरी सोही अनुसार उनीहरुसँग सकारात्मक किसिमले भलाकुसारी गर्न र प्रश्नहरू सोध्नका लागि शिक्षकहरुले आफूमा आवश्यक पर्ने सीप र क्षमताको विकास गर्ने, बालबालिकाका निम्ति आफ्नो विद्यालय र कक्षाकोठालाई हरेक दृष्टिले सकारात्मक र सुरक्षित भएको सुनिश्चित गर्ने, विद्यालयमा सबै विद्यार्थीहरूलाई नामबाटै ससम्मान सम्बोधन गर्ने कार्यको आरम्भ गर्ने गराउने, विद्यालयले बिहानीपख विद्यालय खुल्ने समयमा विद्यालय परिसरमा बालमनोविज्ञान एवम् देशभक्तिका भावनाले भरिएका गीतहरू बजाएर साँगितिक वातावरणको सिर्जना गर्ने, पाठ्यक्रमले निर्दिष्ट गरे अनुसार कक्षा १ देखि कक्षा ३ सम्म सिकाइउपलब्धिमा आधारित विद्यार्थी मूल्याङ्कन प्रणाली र कक्षा ४ देखि माध्यमिक तहसम्म प्रयोगात्मक एवम् परियोजना कार्यमा आधारित सहजीकरण एवम् मूल्याङ्कन प्रणालीलाई पाठ्यक्रमको मर्म अनुसार कार्यान्वयन गर्ने आदि प्रतिबद्धताहरु प्रमुख रुपमा रहेका छन् ।

यसका साथै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले नगरपालिकासँग हरेक वर्ष करार सम्झौता गरी काम गर्ने र आफ्नो विद्यालयको मूल्याङ्कन आफैले गर्ने संयन्त्रको विकास गरी तदनुसार विद्यालयका गतिविधिहरू सञ्चालन गर्ने, प्रधानाध्यापकले कम्तीमा ५ वर्षको विद्यालय विकास योजना नगरपालिकामा पेश गरी काम गर्ने र उक्त योजना कार्यान्वयनमा सहयोग नगर्ने शिक्षक र कर्मचारीको अन्यत्र सरुवाका लागि समेत प्रधानाध्यापकले पालिकामा सिफारिस गर्न सक्ने, विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार गर्नका लागि अभिभावकसँगको अन्तरक्रिया र सहकार्यलाई निरन्तर र जीवन्त रुपमा सञ्चालन गर्ने, हरेक विद्यालयले सरोकारवालाहरुको व्यापक सहभागितामा विद्यालय सुधार योजना लगायत विद्यालय विकासका निम्ति आवधिक योजना निर्माण गरी सोको कार्यान्वयन गरेको हुनुपर्ने, हरेक विद्यार्थीका गतिविधिहरूलाई नजिकबाट निरन्तर रुपमा अवलोकन गरी आवश्यक परामर्श र मार्गनिर्देशन प्रदान गर्नका लागि कुन विद्यार्थीका लागि कुन शिक्षक भन्ने कुरा स्पष्ट रुपमा किटान गरी ’शिक्षक–विद्यार्थी अन्तरसम्बन्ध विस्तार कार्यक्रम’ सञ्चालन गर्नुपर्ने र माथिल्ला कक्षाहरूमा विद्यार्थीबाटै सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना बनाइ कार्यान्वयनमा गर्ने लगायतका प्रतिबद्धताहरु रहेका छन् ।

यसका साथै, शिक्षकको अभिप्रेरणाको स्तरलाई अभिवृद्धि गर्न विद्यालयमा राम्रा शिक्षकहरूका लागि प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गर्ने र विद्यार्थीको प्रगतिप्रति उदासिन शिक्षकहरूलाई छुुट्टी दिने तर्फ विद्यालयले आवश्यक पहल गर्ने, विद्यालयका हरेक स्टाफलाई आइसीटी सम्बन्धी कम्तिमा पनि आधारभूत सीपको विकास गर्नका लागि अवसर प्रदान गरी कक्षाकोठामा प्रयोग गर्नका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने, नेपाल सरकार शैक्षिक गुणस्तर परीक्षण केन्द्रले निर्धारण गरेका विद्यालय मूल्याङ्कनका सूचकलाई आधार मानी आ–आफ्नो विद्यालयहरूको स्वमूल्याङ्कन गर्दै अघि बढ्ने सँस्कृतिको विकास गर्ने, विद्यालयको आन्तरिक स्रोतको खोजी र प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिने, पठनपाठनलाई संशाधनयुक्त तथा शैक्षणिक वातावरण सृजना गर्न माथिल्ला कक्षाहरूमा विषयगत कक्षाकोठा तयार गरी कार्यान्वयन गर्ने, अभिभावक शिक्षक तथा विद्यार्थीको सहकार्यमा पठन संस्कृति विकास गर्न ‘टोल शिक्षा समिति’ गठन गरी पठनपाठन लगायतका शैक्षिक गतिविधिलाई बढावा दिने, शिक्षक उत्प्रेरित कार्यक्रम अन्तरगत शिक्षक भेला, शिक्षण सिकाइ सम्मेलन, सिकाइ सामग्री निर्माण र प्रयोगको तालिम एवम् स्वयंसेवक शिक्षकको परिचालन गर्ने, विद्यालयहरुले आयोजना गर्ने विविध साँस्कृतिक कार्यक्रमहरुमा बालमनोविज्ञान र देशभक्तिको भावनाले ओतप्रोत भएका गीत सङ्गीतहरु प्रयोग गर्ने कार्यलाई प्राथमिकता दिने आदि जस्ता प्रतिबद्धताहरु जारी गरिएको छ ।

कुनै पनि योजना र कार्यक्रमहरु कार्यान्वयन नगर्दासम्म तिनीहरुको खासै अर्थ हुदैन । यसका लागि नगरपालिका संवेदनशील हुदै यिनै प्रतिबद्धताहरुलाई आवधिक योजनामा पनि प्राथमिकता दिएर समेट्ने र विद्यालयको अनुगमनको सिलसिलामा पनि यिनै प्रतिबद्धताहरुलाई सूचक बनाएर विद्यालयहरुको अनुगमन गर्ने गरी संयन्त्रको विकास गर्ने भइरहेको देखिन्छ । उल्लिखित प्रतिबद्धताहरुको कार्यान्वयनका लागि आवश्यक योजना, कानून, कार्यविधि र बजेटका लागि समेत नगरपालिकाले विशेष तयारीका साथ अघि बढिरहेको देखिन्छ । कोहलपुरको शिक्षा क्षेत्रको महत्वपूर्ण अंश ओगटेको संस्थागत विद्यालयरुसँग पनि छलफल र सहकार्य भइरहेको अवस्था छ । प्रमुख, उपप्रमुख देखि कोहलपुर नगरपालिकाको समग्र टिम नै यो मामलामा एकाकार भइ खटेको पनि देखिन्छ । आशा गरौं, पश्चिम नेपालको शैक्षिक हबको रुपमा कोहलपुरले आफूलाई स्थापना गर्न सकोस्,