प्रदेश राजधानीले सर्‍यो प्राविधिक शिक्षालय, विद्यार्थीलाई पढ्नदेखि डेरासम्मको समस्या



मध्य पुसको पारिलो घाममा केही विद्यार्थीहरु बल खेलिरहेका थिए। कोही आमने सामने बेञ्च राखेर आपसमा गफिइरहेका थिए। राप्ती प्राविधिक शिक्षालयका यी विद्यार्थीहरु २ महिनाअघि मात्रै लालमटियाबाट राप्ती पुल तरेर गढवा आइपुगेका हुन्।

दाङ देउखुरीको राप्ती गाउँपालिकामा यसअघि प्राविधिक शिक्षालय रहेको परिसरमा अहिले लुम्बिनी प्रदेश राजधानी संरचना बनेको छ।

केही हप्ताअघि प्रदेश सरकारले लालमटियाबाटै आफ्नो काम गर्न थालिसकेको छ। गत आइतबार शपथ भएर सोमबारबाट प्रदेश सभा अधिवेशन पनि सुरु भइसकेको छ।

२ वर्ष अघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। पछि राप्ती प्राविधिक शिक्षालयमा राजधानीका पूर्वाधार बनाउने निर्णय भयो।

राजधानीको संरचना रहने भएपछि ३ दशक अघि लालमटियामा स्थापित राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिका ३ मा ल्याइएको हो।


गत तिहार र छठपछि शिक्षालयले आफ्नो कक्षा यहीँबाट चलाएको छ।

व्यवस्थित संरचनाबाट नयाँ ठाउँमा आउँदा शिक्षालयका विद्यार्थीहरुले असहज मानिरहेका थिए। रुकुमका अनिलकुमार बुढाथोकी राप्ती प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।

‘झण्डै तीन वर्ष त्यहाँ बसियो। अहिले यता आइएको छ। सबै संरचना बनिसकेको छैन,’ उनले भने ‘त्यहाँ विषय अनुसारको संरचना सेट भइसकेको थियो। त्यसै आधारमा हामीले प्राक्टिकल गथ्र्यौँ। अर्ब प्राक्टिकल गर्न समस्या छ।’

लालमटियामा पूर्वपश्चिम राजमार्गसामुन्ने नै प्राविधिक शिक्षालय रहेको थियो। अहिले स्थानान्तरण भएको ठाउँ राजमार्गबाट अलि दक्षिण पर्दछ।

लालमटियाबाट राजमार्ग हुँदै ५ किलोमिटर पश्चिम गएपछि सिसहनिया बजार आउँछ। सिसहनिया बजारबाट राजमार्ग छोडेर दक्षिण लागि ७ किलोमिटर दूरीमा शिक्षालय आउँछ।

यहाँ आउन नेपालकै दोस्रो लामो राप्ती पुल तर्नुपर्दछ। ग्रामिण क्षेत्र भएकाले गढवाका घरहरु व्यवसायिक प्रायोजनमा लगाउने गरी बनाइएका छैनन्।

राजमार्ग क्षेत्रबाट तुलनात्मक रुपमा पर र ग्रामिण क्षेत्रमा आउँदा कोठाको पनि समस्या रहेको डिप्लोमा इन इन्जिनियरिङ छैटौँ सेमेष्टरकी एलिना पोखरेलले बताइन्।

‘राजमार्गबाट टाढा भएकाले केही गाह्रो भयो। सुरुमा त स्कुल बसमा आउने जाने गर्थ्यौँ, अहिले यतै बस्न थालेका हौं,’ उनले भनिन् ‘उताभन्दा यता बसाइ अलि असजिलो छ। कोठाका साइज उता भन्दा सानो, पानी, बाथरुमको अलि समस्या भयो।’

लालमटियामा प्रदेश सरकार र सभाले काम सुरु गरिसक्दा यता गढवामा शिक्षालयका सबै सामान सेटअप भइसकेका थिएनन्।

उताबाट ल्याएका कतिपय सामानहरु प्रांगणमा असरल्ल देखिन्थे। कतिपय सामान ट्रकमा ओसार्ने क्रम चलिरहेको थियो। बाँकी सामान प्रशासनका कोठामा थुपारिएको थियो।

राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डाँगीले अहिले सामान व्यवस्थापन भइरहेकाले अबको २ महिनामा संरचना तयार हुने बताए।

‘कक्षाकोठा र कार्यालय सेटिङ भइसकेको छ। केही मिलाउन बाँकी छ। आउनेबित्तिकै प्रयोगगात्मकको लागि वर्कशप र क्वार्टर अपुग थियो,’ उनले भने ‘वर्कशप लगभग बनिसकेको छ। क्वार्टर बन्ने क्रममा छ। व्यवस्थित गर्न समय लाग्ला। २ महिनामा सबै सामान आ–आफ्नो ठाउँमा जान्छन्।’

डाँगीले पठनपाठनलाई प्रभाव नपर्ने गरि मर्मत र सेटअपको काम भइरहेको बताए।

२०५० सालमा स्थापित राप्ती प्राविधिक शिक्षालयमा अहिले ७९२ विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता छ। कोरोनाका कारण बीचमा परीक्षा नियमित नहुँदा हाल १ हजारभन्दा बढी विद्यार्थी छन्।

शिक्षालयमा कृषि, सिभिल इन्जिनियरिङ र स्वास्थ्यका प्राविधिकतर्फ ९ वटा कार्यक्रम छन्। जसमध्ये ६ वटा डिप्लोमाका र ३ वटा प्री–डिप्लोमाका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख डाँगीले जानकारी दिए।

राप्ती प्राविधिक शिक्षालय सिटिइभिटीइको आंगिक शैक्षिक संस्था हो। शिक्षालयको स्थानान्तरका लागि प्रदेश सरकारले खर्च बेहोरेको छ।

गढवा गाउँपालिका–३ मा सरस्वती माध्यमिक विद्यालयको नाममा १८ बिघा जग्गा रहेको छ। अहिले सबै जग्गा विद्यालयको नाममा रहेपनि संघिय शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट राप्ती प्राविधीक शिक्षालयले १४ विघा जग्गाको भोगाधिकार पाएको छ।

विद्यालयले ४ विघा जग्गा उपयोग गरेको छ। सरस्वती मावि भवन प्रविधिक शिक्षालयले उपयोग गरेपछि गाउँपालिकाले बनाएको अस्थायी भवनमा विद्यालय सञ्चालन भएको छ।

स्थायी भवन निर्माण पनि सुरु भएको छ। शिक्षालय प्रमुख शालिकराम डाँगीले नयाँ गुरुयोजना पनि बनेकाले केही वर्षमा गढवामा लालमटियाको भन्दा आधुनिक र व्यवस्थित संरचना बन्ने बताए।

राप्तीमा पुल नबन्दासम्म गढवा गाउँपालिका पिछडिएको जस्तो थियो। पुल बनेपछि राजमार्गसम्म आवत जावतमा सहज भएको छ।

त्यसमाथि प्राविधिक शिक्षालय आफ्नो ठाउँमा आएपछि विकासले गति लिएको महसुस भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखेलले बताए।

‘प्राविधिक शिक्षामा गढवाबासीको पहुँच हुने भयो। मुख्य यो हो’, उनले भने, ‘यहाँको कृषि उत्पादनले बजार पाउनेदेखि, घरभाडा, व्यापार व्यवसाय चल्दा आर्थिक चहलपहल र रोजगारीको प्रवर्द्धन पनि होला।’

अध्यक्ष पोखलेले शिक्षालयका विद्यार्थीको बसाइ तत्काल असहज भए पनि सहजीकरणको पहल गरेको जानकारी दिए। नेपाल खबरबाट