सामाजिक विकास मन्त्रीले भने- छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्छु



बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता जनाएका छन् ।सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै उनले सामुदायिक विद्यालयको सुधारका लागि जनप्रतिनिधिले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने बताए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको महासचिव गुणराज मुक्तानले सार्वजनिक शिक्षा सुधारको लागि विद्यालय व्यवस्थापन समितिलाई सशक्तीकरण गर्नुपर्ने बताए ।
बुटवल उपमहानगर पालिकाको प्रमुख खेलराज पाण्डेले संघीयताको सफल कार्यान्वयन र शिक्षाको सुधारमा केन्द्र सरकारले स्थानीय तहको अधिकार कटौटी गरेको गुनासो गरे ।

सम्मेलनमा लुम्बिनी प्रदेशको १२ जिल्ला, १०९ स्थानीय तहको २/२ जना गरी दुई सयभन्दा बढी विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुको सहभागिता रहेको छ । सम्मेलनमा विद्यालय व्यवस्थापन समितिको क्षमता विकासको सेसनहरु सञ्चालन भइरहेका छन् । सम्मेलनले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन हुने लुम्बिनी महासंघको प्रदेश अध्यक्ष शरद भट्टराईले जानकारी दिए ।