मिलन पाण्डे
मनोचिकित्सक हर्मन इबिङ्घसका अनुसार, कुनै पनि विषय पढेको २० मिनेटमै हामी ४२ प्रतिशत बिर्सन्छौं । २४ घण्टामा ६६ प्रतिशत, ७ दिनमा ७५ प्रतिशत र एक महिनामा करिब ८० प्रतिशत बिर्सन्छौं । डोनाल्ड आर बेकन र किम ए स्टिवार्टको अर्को एक अध्ययनले भन्छ– विद्यार्थीले पाठ्यक्रममा पढेका अधिकांश विषय दुई हप्तादेखि दुई वर्षसम्ममा बिर्सिन्छन् । धेरै विद्यार्थीमा ‘म पढेको विषय सम्झिनै सक्दिनँ’ भन्ने हीनताबोध हुनेगर्छ । तर, हामीले विद्यार्थीलाई यो बुझाउन सकिरहेका छैनौं कि ‘बिर्सनु एक प्राकृतिक विषय हो ।’
मेरो एउटा साथी थियो, जो परीक्षाका बेला एक दिनअघि नै अन्तिम पाठ पढिसक्थ्यो । जबकि, मेरो आधा पनि सकिएको हुँदैनथ्यो । म एकचोटि पढेर भ्याउँदिनथें, ऊ दुईचोटि पढिसक्थ्यो । तर, पनि परीक्षामा मेरै नम्बर बढी आउँथ्यो, किन ? त्यतिबेला त थाहा भएन, अहिले बुझ्दै छु– पढ्ने भन्ने विषय एउटा सीप रहेछ, कला रहेछ । कोही कम मिहिनेत गरेरै धेरै नम्बर ल्याउँछन्, कोही दिन–रात पढ्दा पनि फेल हुन्छन्, किन ? किनकि हामीलाई कसरी पढ्ने भन्ने त्यो कला, त्यो सीप सिकाइएकै छैन । अझ, कसरी प्रभावकारी रूपमा पढ्ने ? त्यो त त हामीले सिकेकै छैनौं ।
पढ्नै अल्छी लाग्छ
आमाले हामीलाई भान्सामा फर्सी काट्न बोलाउनुभयो भने हामी जाँदैनौं । जान मनै लाग्दैन । तर, यदि हामीलाई घरमा मासु वा पनिर काट्न बोलाइयो भने हामी दौडेर जान्छौं । अझ मासु ल्याएको दिन त घरमा बुबा, आमा, काका सबै भान्सामै भेटिन्छन् । हामीलाई फर्सी पकाउन नलागेको जाँगर, मासु पकाउन किन लाग्छ ? किनकि, फर्सी पकाउने कामले हामीलाई ऊर्जा दिन सकिरहेको हुँदैन । ठूलो ठानिएको उद्देश्यले हामीलाई ऊर्जा दिन्छ । त्यसैले सुरुमै, विद्यालयले विद्यार्थीलाई ‘किन पढ्ने ?’ भनेर जीवनको त्यो उद्देश्य पहिल्याउन सिकाउन सके ऊर्जा त्यही आ–आफ्नो उद्देश्यले दिन्छ ।
यदि डाक्टर बन्ने उद्देश्य हो भने डाक्टर पढ्न १२ कक्षापछि हजारौं विद्यार्थीलाई टप्दै नाम निकाल्नुपर्छ । प्रवेश परीक्षामा नाम निकाल्न ११ र १२ कक्षामा राम्रो गर्नुपर्छ । १२ कक्षा राम्रो गर्न राम्रो कलेज पढ्न एसईईमा राम्रो नम्बर ल्याउनुपर्छ भनेर बुझ्न सके र सपनालाई स्टेप–स्टेप झारेर, भाग लगाएर प्रत्येक खुड्किलाको महत्त्व बुझ्न सके त्यसले हामीलाई सजिलो बनाइदिन्छ र हाम्रो अल्छीपनलाई खाइदिनेछ । नाम निकालेका दिन आमा–बुवाको वा आफूले सबैभन्दा बढी माया गर्ने मानिसको हाँसोको तस्बिर आँखाअगाडि राख्न सके त्यसले हामीलाई ऊर्जा र प्रेरणा दिन्छ ।
मेरा एक मित्र ताराजी हुनुहुन्छ, जसले १२ पढ्दै सेतो कोट लगाएको आफ्नो फोटो भित्तामा टाँसेर पढ्नुभयो र पछि नाम निकालेर डाक्टर पनि हुनुभयो । प्रत्येकचोटि त्यो सेतो कोट लगाएको तस्बिरले उहाँमा पढ्ने जाँगर जगाउँथ्यो । जसरी हामी बच्चा छँदा एक घण्टाका लागि साइकल भाडामा लिएर दुई घण्टापछि मात्रै विभिन्न बहाना बनाएर फर्काउने गर्थ्यौं, त्यसैगरी पढाइ पनि हाम्रो त्यस्तै लगाव बन्न सके जीवनमा हामी सफल हुन अरू कुनै सूत्र चाहिने थिएन । जब पढाइमा विद्यार्थीको लगाव जोडिन्छ, तब पढाइ बोरिङ होइन, रमाइलो हुन थाल्छ ।
कसरी हटाउने अल्छीपन ?
लेखक, प्राध्यापक डा. ग्लोरिया मार्कको अध्ययनअनुसार, सन् २००४ मा अफिसमा मानिसहरू काम गर्दा औसत २ मिनेट ३० सेकेन्डसम्म एकाग्र रहन सक्थे । त्यो सन् २०१२ मा आउँदा ७५ सेकेन्डमा झर्यो भने २०२२ मा ४७ सेकेन्डमा । एकाग्रता नहुनु र ‘ढिलासुस्ती’ हुनु हाम्रो आजको सबैभन्दा ठूलो समस्या हो । यसलाई कसरी हटाउने भन्ने सबैभन्दा ठूलो चुनौती हो आजको । ‘ढिलासुस्ती’ वा अल्छीपनलाई कम गर्न यी तरिका अपनाउन सकिन्छ ।
१) टु मिनेट रुल
अल्छीपन मार्न सबैभन्दा पहिले हामीले एउटा मन्त्र आत्मसात् गर्नुपर्छ । त्यो हो, ‘पर्फेक्ट वातावरण कुर्ने होइन, सुरु गरिहाल्ने हो’ । आज नयाँ किताब किनेर ल्याएर पढ्छु भन्ने सोचेर वा भोलि किताब मिलाएर पढ्न थाल्छु भनेर पढ्ने योजना बनाउने हो भने त्यो विद्यार्थीको पढाइ सुरु हुनै सक्दैन । न भोलि त्यो नयाँ किताब आउँछ, न पढाइ नै सुरु हुन्छ । त्यसैले, सबै वातावरण मिलाएर पढ्छु भन्नु अल्छीपनको सबैभन्दा बलियो लक्षण हो ।
यो बानी हटाउन हामी ‘टु मिनेट रुल’ अपनाउन सक्छौं । चर्चित लेखक जेम्स क्लियरले आफ्नो पुस्तक ‘एटमिक ह्वाबिट्स’ मा उल्लेख गरेझैं हामीले ठूलो सफलता हासिल गर्नु छ भने सानो सुरुआत गरिहाल्नु जरुरी छ । उदाहरणका लागि, म्याराथन दौडने लक्ष्य निकै चुनौतीपूर्ण लाग्न सक्छ । त्यो लक्ष्य प्राप्तिका निम्ति स्पोर्टस जुत्ता लगाउने काम पहिलो स्टेप हो भनेर सुरु गर्ने हो भने, त्यसले हामीलाई प्रेरित गरेर अगाडि बढाउँछ । यसका निम्ति २ मिनेट पनि लाग्दैन । यो गतिविधिले ऊर्जा दिन्छ, बानी पार्छ । १०० पेजको किताब लेख्छु भन्ने उद्देश्यलाई दिनको एक पेज लेख्छु भनेर सुरु गर्दा सजिलो हुन्छ । दिनको एक घण्टा व्यायाम सुरु गर्न गाह्रो छ, तर ५ मिनेट हिँड्ने काम सजिलो छ । यो ‘टु मिनेट रुल’ ले उद्देश्यलाई स्टेप स्टेपमा टुक्र्याउँछ, सजिलो अनुभूति गराइदिन्छ । एउटा बच्चालाई तिमीले जीवनमा १०० ट्रक भात खानुपर्छ भन्नुभन्दा, दिनको ४०० ग्राम खाना खानुपर्छ भन्नुमा फरक छ ।
२) ‘डेडलाइन’ तोकौं, जवाफदेही बनौं
जबसम्म काम सक्ने ‘डेडलाइन’ तय हुन्न, तबसम्म काम हुन्न । मानौं १७ गते परीक्षा छ भने हामी कति गतेबाट पढ्न सुरु गर्छौँ ? योजना त १ गतेबाटै पढ्छु भन्ने बन्छ, तर हामी अधिकांश १६ गते बिहान मात्रै आत्तिँदै तात्ने गर्छौं । अझ म त कहिले–कहिले १७ गतेको परीक्षाका निम्ति १६ गते रातिबाट मात्रै तात्न थाल्थेँ । हामी विद्यार्थीको सबैभन्दा ठूलो कमजोरी नै यही हो । यदि परीक्षाका लागि १० दिन बाँकी छ भने हामीले त्यसलाई १० दिनमा कति पाठ पढ्न बाँकी छ भनेर भाग लगाउनु जरुरी छ । मानौं, १० वटा पाठ बाँकी छ भने हामीले दिनको एउटा पाठ पढ्ने तालिका बनाउनु जरुरी छ । यसरी ‘यति गतेसम्म यो पाठ सक्छु’ भनेर म्याद तोकिनु जरुरी छ । यसरी म्याद तोकेर, तालिका बनाउन त सजिलो छ, तर पालना गर्न निकै गाह्रो छ । त्यसैले, ‘एक्सन’ चाहिन्छ । र, त्यो ‘एक्सन’ का निम्ति टु मिनेट रुल लगाउन सकिन्छ । जब हामी ‘डेडलाइन’ राख्छौं अनि कोहीप्रति जवाफदेही हुन्छौं तब मात्र काम सक्छौं । यो मानवीय प्रवृत्ति नै हो । त्यसका लागि कोही दाइ–दिदी वा परिवारका सदस्य वा कोही शिक्षकसँग आफूलाई उक्त म्याद राखेको दिन कति सकियो भनेर सोध्न अनुरोध गर्नुपर्छ । फेरि जवाफदेही बनाउनुपर्ने मानिसले दिनका दिन, छिनका छिन सोधेर डिस्टर्ब गर्ने होइन, त्यो सक्छु भनेको दिन सम्झाउने हो । आफूले मान्ने मान्छेप्रति जवाफदेही हुनुपर्दा हामी थप जिम्मेवार बन्ने गर्छौं ।
‘मैले यति गतेसम्म यो पढेर यत्ति सकेँ भने म यो रमाइलो गर्छु’ वा ‘यो खान्छु’ वा ‘एउटा फिल्म हेर्छु’ वा ‘कोहीसँग कुरा गर्छु’ भनेर आफैंलाई पुरस्कृत गर्दा त्यसले पढ्न प्रेरित गर्छ । आफैंलाई पुरस्कृत गर्दा त्यसले पढ्ने क्रममा ऊर्जा पनि दिन्छ । निरन्तर पढ्नुभन्दा पढ्ने, रमाइलो गर्ने गर्दा थप प्रभावकारी हुन्छ ।
कति पढ्ने ?
शिक्षाविद् डलरेस डर्किन्सले सयौं घण्टा अध्ययन गरेर, कक्षाहरूको अवलोकन गर्दा के पाए भने, शिक्षकहरू आफ्ना विद्यार्थीको पठन–क्षमताको आकलन त राम्रैगरी गर्दा रहेछन्, तर तिनलाई बुझेर पढ्ने तरिका फिटिक्कै सिकाउँदा रहेनछन् । के पढ्ने भन्ने विषय त विद्यार्थीलाई सिकाइयो, तर कसरी पढ्ने भन्ने तरिका शिक्षकले विद्यार्थीलाई सिकाउनै सकिरहेका छैनन् । कसरी पढ्ने भन्ने विषयमा म प्रोफेसर स्कट ब्रुउइक्नर र मार्टी लोब्डेलको बुझाइसँगै आफ्नै बुझाइ यहाँ लेख्न चाहन्छु ।
‘आज मैले लगातार ९ घण्टा पढेँ’, वा ‘आज मैले दिन–रात पढेँ’ भनेर हामी गर्वसाथ आफ्ना उपलब्धि सुनाउँछौं । तर, यहाँ हामीले छलफल गर्नुपर्ने महत्त्वपूर्ण प्रश्न के भने त्यसरी पढ्दा हामीले कति सम्झियौं त ? हामी पढ्छौं वा किताब अगाडि बस्छौं अनि सबै बिर्सिन्छौं । त्यसरी प्रभावहीन तरिकाले पढेर के काम लाग्यो त ? म हामीले पढ्दा अपनाउन सकिने केही तरिकाबारे चर्चा गर्छु–
१) पढ्दै, आराम गर्दै
कति समय लगातार पढ्ने भन्ने धेरै अध्ययन भएका छन्, धेरै पुस्तक लेखिएका छन्, तीमध्ये अधिकांश अध्ययनको निचोड छ– पढ्दा हामी सुरुमा १० मिनेट र अन्तिमको १० मिनेट राम्ररी बुझ्छौं । सुरुमा ऊर्जा हुन्छ र अन्त्यमा एकाग्रता राम्रो हुन्छ । हाम्रो मस्तिष्कले नै त्यसरी काम गर्छ । अर्थात्, हामीले ९० मिनेट पढ्यौं भने सुरुको १० मिनेट र अन्त्यको १० मिनेट प्रभावकारी रहन्छ । बीचको ७० मिनेट धेरै प्रभावकारी हुँदैन । लगातार ९० मिनेट पढ्नुको साटो बरु त्यो ९० मिनेटलाई ३ भागमा बाँडेर ३०–३०–३० मिनेट पढे, त्यही ९० मिनेटमा पनि हरेक पढाइका लागि सुरुको १० मिनेट र अन्त्यको १० मिनेट गरेर ६० मिनेट प्रभावकारी हुन्छ र हामी बढी सम्झिन सक्छौं ।
म चलनचल्तीको ‘पोमोडोरो तरिका’ मा अलिकति संशोधन गरेर यहाँ प्रस्तुत गर्दै छु । यो तरिकाअनुसार, हामीले एक बसाइमा ३० मिनेट पढ्दा प्रभावकारी हुन्छ । २५ मिनेट पाठ पढ्ने, ५ मिनेट आफूले पढेको सरर्र दोहोर्याउने । यसरी ३० मिनेट पढेपछि, अब ५ मिनेट आराम गर्ने । यसरी ५ मिनेट आराम गरेपछि फेरि ३० मिनेट पढ्ने र फेरि ५ मिनेट आराम गर्ने । यसरी आराम गर्दा मोबाइल चलाउने होइन, खेल्न जाने होइन । यसरी आराम गर्दै गर्दा जीउ तन्काउने, पानी खाने अनि शान्त बस्दा एकाग्रता फर्काउन सकिन्छ । यसरी चारचोटि छोटो ब्रेक गर्दै ३०/३० मिनेट पढेपछि अब अलि ठूलो ३० मिनेट ब्रेक लिने । यो ब्रेकमा भने केही खाने, बाहिर निस्कने गर्न सकिन्छ । अनि, फेरि यसरी नै ४ चोटि ३०/३० मिनेट पढ्न थाल्ने । यो तरिका निकै प्रभावकारी मानिन्छ ।
२) पढाएर पढ्ने
महान् व्याख्याता तथा चर्चित भौतिकशास्त्री रिचार्ड फेनम्यानले ‘बुझेर पढ्ने’ तरिका सुझाएका छन्, जसलाई ‘फेनम्यान टेक्निक’ भनिन्छ । यो टेक्निक त्यस्ता विषयमा लगाउन सकिन्छ, जसलाई विद्यार्थीले ‘बुझेर पढ्नुपर्ने’ हुन्छ । यसमा ४ वटा स्टेप हुन्छन् । पहिलो स्टेपमा कुन टपिक पढ्ने ? त्यो छान्ने गरिन्छ । दोस्रोमा, उक्त टपिकलाई शिक्षक बनेर अरूलाई वा आफैंलाई बुझाउने गरिन्छ । तपाईंले साथी, भाइबहिनी वा आमाबुवा वा कोही नभए खाली कुर्सीलाई भए पनि पढाउन सक्नुहुन्छ । तेस्रो स्टेपमा त्यसरी पढाउँदा कहीँ रोकिए किताब वा नोट हेरेर बुझाउन सकिन्छ । चौथो स्टेपमा भने, अब आफूले पढाएको विषयलाई अन्य उदाहरण वा कथासहित थप सरल बनाएर बुझ्न सकिन्छ । बुझ्ने सबैभन्दा प्रभावकारी तरिका अरूलाई पढाउने हो । भनिन्छ, अरूले पढाएको सुन्दा पाँच प्रतिशत सम्झिइन्छ भने आफूले अरूलाई पढाउँदा ९० प्रतिशतसम्म सम्झिन सकिन्छ ।
पढाइलाई रसिक बनाउने
पढाइसम्बन्धी अनुसन्धानबाट निरन्तर के स्पष्ट हुँदै आएको छ भने कुनै पनि विद्यार्थीले अर्कोसँग ठ्याक्कै मिल्ने गरी पढ्दैन । जसले आफैं राम्रो गरिरहेका छन्, उनीहरूले आफ्नै शैलीमा पढ्दा हुन्छ । तर, जसले पढ्दा पनि राम्रो गर्न सकिरहेका छैनन् उनीहरूका लागि यी उपाय प्रभावकारी छन् ।
१) २–१–० तरिका
कुनै पाठको कुनै भाग पढेपछि हामी प्रायः अर्को भाग पढ्न थालिहाल्छौं । तर, सिधै अर्को भाग पढ्न सुरु गर्नु हुँदैन । हामीले पढेको भाग छोपेर आफूले कति सम्झिएँ भनेर लेख्ने वा भन्ने प्रयास गर्नुपर्छ । लेखेपछि, किताब खोलेर कस्तो भयो भनेर आफ्नो बुझाइ सरर्र हेर्नुपर्छ । उदाहरणका लागि, ‘वायु प्रदूषण कसरी रोक्ने ?’ भन्ने विभिन्न बुँदा पढेपछि हामीले पढेको उक्त विषयलाई आफैंले लेख्ने प्रयास गर्नुपर्छ । लेखेपछि वा भनेपछि फेरि किताब खोलेर सरर हेर्ने र यदि आफूले राम्रो गरेको छु भने उक्त शीर्षकमा पेन्सिलले २ (नम्बर) दिने । यदि ठीकठाक छ भने १ (नम्बर) दिने र यदि केही पनि मिलेन वा आएन भने ० (नम्बर) दिनुपर्छ ।
एक चोटि पढेपछि ० र १ लेखेको शीर्षकलाई फेरि दोहोर्याउने र फेरि त्यस्तै गर्ने । अब बिस्तारै १ लेखेको काटिएर २ बन्दै जान्छ र ० लेखेको १ र १ लेखेको २ हुँदै जान्छ । यसरी जबजब ०, १ बन्छ अनि १, २ बन्दै जान्छ, त्यसले हाम्रो प्रगति देखाउँछ र ऊर्जा दिन्छ अनि आत्मबल थप्छ । निराश पढाइमा यस्ता तरिकाले रमाइलो भर्ने काम पनि गर्छ । तर, यो तरिका गणितजस्ता विषयमा भने लागू गर्न सकिँदैन ।
२) फ्ल्यास कार्ड
कुनै पनि शब्दको अर्थ वा परिभाषा सम्झिन गाह्रो हुन्छ । शब्द तलमाथि गर्दा वा अर्को पाठ पढ्दा हामी बिर्सन्छौं । अनि साँच्चै भन्ने हो भने परिभाषा पढ्दा साह्रै अल्छी पनि लाग्छ । त्यसैले शब्द–शब्द एकोहोरो घोक्ने तरिका गलत हो । शब्दको अर्थ वा परिभाषा पढ्ने सही तरिका भनेको सुरुमा शब्दको पूर्ण परिभाषा पढ्ने । त्यसपछि परिभाषामा प्रयोग भएको प्रत्येक शब्दको अर्थ पढ्ने । यसरी शब्दको अर्थ खोज्न समय लाग्छ, तर अर्थ खोजेर पढ्ने हो भने धेरै सम्झिन सकिन्छ । तेस्रोमा, बुझेपछि शब्दको आफ्नै भाषामा परिभाषा बनाउने र अन्त्यमा त्यसलाई थप उदाहरणबाट बुझ्ने तरिका अपनाउँदा लामो समय सम्झिन सकिन्छ ।
यसरी शब्दको अर्थ घोक्दा एउटा कार्ड (तासको पत्तीजस्तो) मा शब्द अगाडि लेख्ने अनि पछाडि त्यसको अर्थ राखेर पढ्दा सम्झन सजिलो हुन्छ । यस्ता महत्त्वपूर्ण परिभाषाको कार्ड टेबलमा छरिएर रहन सक्छन् । बेलाबेला त्यस्ता कार्ड एउटा उठाउँदै त्यसको अर्थ भन्ने र पछाडि हेरेर सम्झँदा पनि धेरै सिक्न सक्छौं । यस्ता फरक–फरक तरिका अपनाइराख्दा पढ्दा रमाइलो हुनेगर्छ ।
३) कण्ठ गर्ने तरिका
केही विषय भने बुझेर पढ्न सकिँदैन । हामीले कण्ठ गर्नुपर्छ । कुन अंग्रेजी महिनामा कति गते हुन्छ ? वा पिरियडिक टेबलका तत्त्वहरूको नाम वा नौ ग्रहका नाम वा कसैको जन्म मिति । यस्ता कुरा सम्झिन विभिन्न तरिका अपनाउन सकिन्छ । उदाहरणका लागि मेस्सीको जन्म मिति सम्झिन मैले मेरो जन्ममितिभन्दा दुई वर्ष, ३ दिनअघि हो भनेर सम्बन्धित गरेर सम्झेको छु । यदि यो मिति मलाई सम्झनै छ भने अब मलाई सजिलो भयो ।
अर्को महत्त्वपूर्ण ट्रिक हो ‘नेमोनिक’ र ‘एक्रोस्टिक’ को प्रयोग गर्नु । जस्तै मलाई पसल गएर चम्सुरको साग, मसला, तरुल, काउली र रहरको दाल ल्याउनु छ भने मैले अब यो ५ वटा वस्तु सम्झिन एउटा शब्द (नेमोनिक) बनाउन सक्छु । यहाँ मैले ‘चमत्कार’ भनेर सम्झिएँ भने अब ५ वटै कुरा सम्झन सक्छु । सम्झिन हामी ‘एक्रोस्टिक’ को प्रयोग पनि गर्न सक्छौं । उदाहरणका लागि, बागमती प्रदेशका १३ जिल्लाको नाम सम्झिन एउटा लाइन सम्झिन सकिन्छ, जस्तै : ‘काठमाडौंमा लभ गर्छन् दोलखाकी सिनुधा र चितवनका कासिराम’ (१. काठमाडौं, २. ल–ललितपुर, ३. भ–भक्तपुर, ४. दोलखा, ५. सि–सिन्धुपाल्चोक, ६. नु– नुवाकोट, ७. धा– धादिङ, ८. र– रसुवा, ९. चितवन, १०. का– काभ्रेपलान्चोक, ११. सि– सिन्धुली, १२. रा– रामेछाप, १३. म– मकवानपुर) ।
सम्झने अर्को तरिका भनेको शब्द वा अंकलाई टुक्र्याएर, मिलाएर पढ्ने हो । मनोचिकित्सक जर्ज ए मिलरका अनुसार, हामी एकचोटिमा ७ वटा (व्यक्तिअनुसार ५ वा ९ सम्म) शब्द वा अंक सम्झिन सक्छौं । त्यसैले नम्बरहरू कण्ठ गर्दा पनि १० वटा नम्बरभन्दा त्यही नम्बरलाई ३ वा ४ वटा भागमा टुक्र्याएर सम्झिँदा बढी सजिलो हुन्छ । फोन नम्बरहरू सम्झँदा यो विधि लगाउन सकिन्छ ।
नम्बरकै कुरा गर्दा गणितमा केही हिसाब ट्रिकका रूपमा पनि सजिलै सम्झिन सकिन्छ । उदाहरणका लागि– अन्तिममा ५ अंक आउने कुनै पनि नम्बर (उदाहरण– ३५) को वर्ग निकाल्न सजिलो छ । त्यस्तो नम्बरका अगाडिको नम्बरमा एक थपेर त्यही नम्बरसँग गुणन गर्ने अर्थात् ३ लाई एक बढाउँदा ४ हुन्छ । ३ र ४ गुणन गर्दा १२ हुन्छ । अनि, पछाडिको ५ को वर्ग निकाल्ने र सँगै राख्ने अर्थात् ५ को वर्ग २५ हुन्छ । सजिलै ३५ को वर्गको हिसाब नगरी हामी अब १२२५ लेख्न सक्छौं । त्यस्तै ६५ को अब हिसाबै नगरी ४२२५ लेख्न सकिन्छ । यस्ता धेरै ट्रिक छन् । ११ सँग कुनै पनि नम्बर गुणन गरेर आउने नम्बर सजिलै निकाल्न सकिन्छ । उदाहरण ५४ र ११ को गुणन गर्दा सिधै त्यो ५ र ४ जोड्दा आउने ९ लाई त्यो नम्बर को बिचमा राखेर अन्तिम हिसाब दिन सकिन्छ । अर्थात्, ५४ र ११ को गुनान गर्दा ५९४ हुन्छ । यस्ता केही ट्रिकले हामीलाई निकै सजिलो बनाउँछ । क्यालकुलेटर प्रयोग गर्न नदिइने परीक्षामा यस्ता ट्रिकवाला हिसाबले विद्यार्थीलाई सजिलो पार्छ ।
केही कण्ठै गर्नुपर्ने कुरा सम्झिन प्रयोग हुने अर्को तरिका हो ‘मेमोरी प्यालेस’ अर्थात् सपनाको महल खडा गर्ने । यो प्रक्रियामा तपाईंले आफूलाई फिल्म निर्देशकका रूपमा उभ्याउनुपर्छ । हाम्रो मस्तिष्कले चित्र सहज रूपमा लामो समयसम्म सम्झिन सक्छ । अझ पृथक् घटनाहरू त झन् बढी सम्झन्छ । यो तरिकामा आफूले एकदम राम्रोसँग चिनेका ठाउँमा घटनाहरूको सिर्जना गरिन्छ । उदाहरणका लागि हामीलाई पिरियडिक टेबलका तत्त्वहरू सम्झनु छ भने तपाईं अब आफ्नो घरमा कथा बनाउन सक्नुहुन्छ । मैले यहाँ परिचित उदाहरण दिएर बुझाउन चाहेँ । मानौं, तपार्इं घरको आँगनमा घाम तापेर बसिरहनुभएको छ । घाम भन्नेबित्तिकै सूर्य र सूर्य हाइड्रोजन (पिरियडिक टेबलको पहिलो तत्त्व) बाट बनेको हुन्छ । घाम चर्को हुँदै जाँदा म घरभित्र पसेँ । ढोकामा उडिरहेका बेलुनहरू थिए । बेलुनमा हिलियम हुन्छ । यहाँ अब हिलियम (दोस्रो तत्त्व) सम्झिनुपर्छ । घरभित्र पस्नेबित्तिकै भुइँमा ब्याट्रीहरू फालिएको थियो । ब्याट्री लिथियमबाट बनेको हुन्छ, अब लिथियम (तेस्रो तत्त्व) सम्झिनुपर्यो । अब पिरियडिक टेबलको चौथो तत्त्व हो, बेरिलियम । बेरिलियम सम्झिन बेरी (फल) सम्झिँदा पनि हुन्छ । ब्याट्री उठाएर टेबलमा राख्न जाँदा टेबलमा बेरी थियो । यसरी कथा बुन्दै हामी हामीलाई चाहिने कथा बनाउन सक्छौं । कथा जति बेतुकको भयो त्यति विद्यार्थीले सम्झिन्छन् । केही विषय भने अभ्यास नै गर्नुपर्ने हुन्छन् ।
जस्तै : भाषा सिक्न तपाईं हामीले बोल्नैपर्छ । संवाद गर्नैपर्छ । चाइनिज सिक्न बोल्ने नै हो, अरू उपाय छैन । त्यस्तै, गणित वा लेखाजस्ता विषयमा जान्ने तरिका भनेको पनि अभ्यास, अभ्यास अनि अभ्यास नै हो ।
पढ्दा ध्यान दिनुपर्ने ३ बानी
हाम्रो धेरैवटा किताब पढ्ने बानी हुन्छ । विभिन्न किताबमा लेखेको भाषाले हामीलाई धेरै अन्योल बनाइरहेको हुन्छ । त्यसैले पढेको सम्झिन धेरै किताब पढ्ने होइन, एउटा राम्रो किताब धेरैचोटि पढ्नु नै सबैभन्दा प्रभावकारी हुन्छ । पढाइलाई प्रभावकारी बनाउन विद्यार्थीहरूले ध्यान दिनुपर्ने पहिलो विषय भनेको सबैभन्दा प्रभावकारी समयमा सबैभन्दा महत्त्वपूर्ण विषय पढ्नु हो । मानौं, बिहान म राम्ररी पढ्न सक्छु भने मैले बिहानको समय अलि धेरै र महत्त्वपूर्ण विषय पढ्नुपर्यो । आफ्नो प्रभावकारी समय पहिल्याएर त्यो समयमा महत्त्वपूर्ण कुरा पढ्नु परिणाममुखी रहन्छ ।
दोस्रो महत्त्वपूर्ण कुरा हामी परीक्षामा निद्रा मारीमारी पढिरहेका हुन्छौं । तर, थाकेको शरीरले नयाँ कुरा सम्झन सक्दैन । हार्वडको एक अध्ययन अनुसार, यदि राम्ररी सुत्ने हो भने विद्यार्थीले बिहान उठ्दा राति पढेको विषय ३५ प्रतिशत थप राम्ररी सम्झन्छन् । राम्ररी सुत्दा पढेको सूचना मस्तिष्कमा थप स्टोर भएर बस्ने पाइएको छ । त्यसैले परीक्षाका बेला पनि तयारी राम्रो छ, पढिसकेको छ भने कम्तीमा ७ घण्टा सुत्नैपर्छ । तेस्रो कुरा भनेको यदि पढाइ डिस्टर्ब हुँदैन भने एक्लैभन्दा दुई जना भएर ग्रुपमा पढेको राम्रो । साथीसँग सिक्दा उसले आफ्नै लेभलमा रहेर बुझाउन सक्छ । साथीहरूसँग मिलेर परीक्षाको अगाडि महत्त्वपूर्ण विषय दोहोर्याएर पढ्दा प्रभावकारी हुन सक्छ ।
निष्कर्ष
लामार्कको ‘युज एन्ड डिस्युज’ सिद्धान्त पढाइमा पनि लागू हुन्छ । अर्थात्, कुनै पनि विषय प्रयोग गरिएन भने त्यो हराएर जान्छ । कम बिर्सने एक मात्रै उपाय हो, बेलाबेला दोहोर्याएर पढ्नु । मनोचिकित्सक सेसिल एलेक मेसले सन् १९३२ मा प्रस्ताव गरेबमोजिम हामीले पढेको कुरा दोहोर्याएर पढ्यौं भने बिर्सने गति घट्छ । अध्ययनहरूले पनि के देखाएका छन् भने १ दिन, २ दिन, ४ दिन, ८ दिनमा दोहोर्याउने हो भने हामीले पढेको ६० दिनपछि पनि ८० प्रतिशत सम्झन सक्छौं । अनि, पढेको विषय लेख्दा र अरूलाई बुझाउँदा हामीले थप सिक्छौं ।
हाम्रा विद्यालयले विद्यार्थीलाई के पढ्ने त पढायो, तर कसरी प्रभावकारी पढ्ने, त्यो पढाउन सकेन । स्कुल सिकाउने थलो हो । अध्ययनहरू भन्छन्– स्कुलका अधिकांश विद्यार्थीले केही सिक्नै सकेका हुँदैनन् । उनीहरू किताबका कुरा रटेर पास हुन्छन् र कक्षा चढ्दै जान्छन् । त्यसैले, पढ्न असाध्यै अल्छी मान्छन् । अब स्कुलमै के पढ्ने मात्रै होइन, किन पढ्ने र कसरी पढ्ने ? त्यो पढाउनु जरुरी छ । (कान्तिपुरबाट)