थालको आवाज पुग्ला त सिंहदरबारको कानमा ?



काठमाडौं । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका विभिन्न विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म थाल ठटाएर उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

विद्यालयका कार्यालय सहयोगी र लेखापालको न्यूनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारीहरु आन्दोलित बनेका हुन् ।सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा शिक्षकहरुको सेवा सुविधा बढाउने भनिए पनि बजेटमा त्यस कुरा नआएपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले व्यानर र पम्प्लेटमा संघीय शक्षा ऐन जारी गर, निः शुल्क शिक्षा लागू गर, बुँदा नम्बर १२७ लागू गर, सर्वोच्चको फैसला कार्यान्वयन गर नारा लगाएका छन् ।


प्रदर्शनमा उनीहरुले थाल, घन्टी लगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी गरेका छन्। परिषद् आवद्ध कर्माचारीहरु सेवा सुविधा वृद्धिलगायत माग राखि केही सातादेखि आन्दोलन गर्दै आएका छन् । विद्यालयका शिक्षकहरु पनि उनीहरुलाई साथ दिँदै आन्दोलनमामा सहभागी थिए । यस अघि उनीहरुले पालिका र शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने कार्यक्रम गरिसकेका छन् ।