पढाइबाट परै राउटे बालबालिका



-ज्योति कटुवाल

दैलेख । महाबु गाउँपालिका–२ किटुलामा बस्दै आएका १२ वर्षीय धुरे शाहीलाई पढ्न र बस्तीबाहिर हिँड्न मन लाग्छ । तर, आफ्नै समुदायका कारण उनी कतै जान पाउँदैनन् । ‘पढ्न विद्यालय र बिरामी हुँदा अस्पताल जाने कुरा त हाम्रा लागि सपनाजस्तै हो,’ उनले भने, ‘हामीलाई वरपरका गाउँ पनि घुम्न मन लाग्छ, तर मुखियाले जान दिँदैनन् ।’


उनी पढाइबाट त वञ्चित छन् नै परम्परा र संस्कृतिका नाममा राउटे समुदायभित्र विद्यमान मदिरा खाने शैली पछ्याउँदै अम्मली हुने बाटोमा पनि हिँडिसकेका छन् ।

 

राष्ट्रिय जनगणना २०७८ अनुसार राउटे समुदायमा १८ वर्षमुनिका ६९ जना छन् । जसमध्ये ३७ बालिका र ३२ बालक छन् । उनीहरू विद्यालयसम्म पुग्न नपाए पनि बाहिरी समुदायसँग सम्पर्कमा आएसँगै पढ्नुपर्छ भन्ने सन्देश पुगिरहेको देखिन्छ । तर घुमन्ते जातिका छोराछोरीले पढ्नु हुँदैन भन्ने अभिभावकको मान्यताका कारण उनीहरू पढ्ने रहरबारे मुखर हुन सकिरहेका छैनन् । ‘पढ्न पाएको भए समुदायमा कस्ता मान्छे आउँछन्, किन आउँछन् भन्नेबारे थाहा हुन्थ्यो,’ १४ वर्षीय कमल शाहीले भने, ‘हामी पनि बाबु, बराजुजस्तै अनपढ भयौं ।’

राउटे समुदायमा पढ्नु पर्दैन भन्ने मान्यता छ । महामुखिया मैनबहादुर शाहीले पढ्न रहर गर्ने बालबालिकालाई पनि विद्यालय जानबाट रोक्ने गरेका छन् । ‘हाम्रा पुर्खाले पनि पढेनन् हामीले पनि पढेनौं । बालबच्चालाई पढाएर के गर्ने रु’ शाहीले भने, ‘हाम्रो त जंगलमा बाँच्ने र यहीं मर्ने जात हो, हाम्रो थिति कसैले पनि भुल्नु भएन ।’

जाजरकोट, दैलेख, सुर्खेत, सल्यानलगायत जिल्लामा बसाइँ सर्दै हिँडिरहने राउटेहरू केही दिनअघि मात्रै दैलेखको भैरवी–२ बाट बसाइँ सरेर महाबु–२ आइपुगेका छन् । यो समुदायमा अहिले महामुखियाको जिम्मेवारीमा मैनबहादुर शाही छन् । रास्कोटी, कल्याल, सोमवंशी वंशअनुसार आ–आफ्ना मुखिया तोकिएका हुन्छन् । राउटे समुदायको व्यवस्थापनका लागि महामुखिया तोक्ने परम्परा छ ।

यो समुदायमा अहिलेसम्म कोही पनि विद्यालय गएको रेकर्ड छैन । महामुखिया शाहीका १४ सन्तान जन्मिए, सबैको मृत्यु भइसकेको छ । कुन रोग लागेर उनीहरूको मृत्यु भयो भन्ने उनलाई थाहा छैन । राउटे समुदायका बालबालिकालाई शिक्षा र स्वास्थ्यबारे जानकारी दिन गैरसरकारी संस्थाले ५ वर्षयता दुर्गा खत्री र लालबहादुर खत्री दम्पतीलाई शिक्षकका रूपमा राखेका छन् । लालबहादुरले भने, ‘कति भत्ता आउँछ भन्नेबारे पनि थाहा पाउँदैनन्, सामान्य शिक्षा पाएको भए जीवनस्तर धेरै माथि हुन्थ्यो ।’

शाहीका एक छोराबाट १० वर्षका नाति छन् । उनका आमाबाबु दुवैको मृत्यु भइसकेको छ । ‘उसले विद्यालय जानुपर्छ भन्ने सिकेको छैन,’ शिक्षक खत्रीले भने, ‘बरु घरमै बसेर मदिरा खाने र जंगल जाने काम सिकेको छ ।’ आफूहरूलाई पढ्नरलेख्न नदिएर महामुखियाले ठूलो अन्याय गरेको कमल शाहीले बताए ।

‘वारिपारि गाउँका सबै केटाकेटी स्कुल जान्छन्,’ उनले भने, ‘हामी त न हिसाबकिताब जान्दछौं न नाम लेख्न । पढेलेखेको भए अहिले एक्लै हुनु पर्थेन, हामी पनि ठूलो मान्छे बन्थ्यौं होला ।’ राउटे समुदायमा शिक्षाको पहुँच नहुँदा उनीहरूलाई के खाने र कस्तो खानेसम्मको सामान्य ज्ञान पनि नभएको भैरवी–२ को दारेघाटका धर्मबहादुर बुढाले बताए । ‘पुर्खाले यो गरे ऊ गरे भनेर पछिल्लो पुस्तालाई त्यही कुरा मान्न बाध्य गराइरहेका छन्,’ उनले भने, ‘राउटे मुखियाहरू नै अशिक्षित भएकाले देशको अवस्था के र कस्तो छ भन्नेबारे कसैलाई पनि जानकारी छैन ।’

१६ वर्षीया बाग्या शाहीले अहिलेसम्म आफूले किताबकपी नछोएको बताइन् । ‘पढ्न त मन लाग्दो नि, पढे ठूलो मान्छे हुन्छ भन्छन् सबैले,’ उनले भनिन्, ‘हाम्रो मुखिया मान्दैनन्, हामीलाई त जंगलमा कहाँ सिकार पाइन्छ र खानेकुरा र पानी कहाँ पाइन्छ भन्ने मात्र ध्यान हुन्छ ।’ उनले आफूहरू स्कुल पढ्छन् भनेरै मुखियाहरूले छिटोछिटो बस्ती सार्ने गरेको बताइन् । उनका अनुसार स्कुल जान, कपीकिताब समाउन र नयाँ कपडा लगाउन मन भए पनि आमाबाबुले बेवास्ता गरिरहेका छन् ।

राउटेले अहिलेसम्म फिरन्ते जीवन बिताइरहेका छन् । बस्तीमा पुगेका आगन्तुकले पढ्न दिएको सल्लाहलाई उनीहरूले ठाडै इन्कार गर्छन् । बस्तीमा उनीहरूको सशक्तीकरणका लागि कार्यरत गैरसरकारी संस्थाले दिएका कपीकलमसमेत उनीहरूले नराख्ने शिक्षक खत्रीले बताए । उनीहरूलाई गुराँस गाउँपालिकाले परिचयपत्र दिएको छ, त्यो पनि आफूसँग राख्न मान्दैनन् । ‘राउटेहरूको स्वभाव कुनै कुरा संग्रह गरी राख्ने, कमाउने र एकै ठाउँमा बस्ने हुँदैन,’ उनले भने, ‘किनकि उनीहरू जे गर्छन् तत्कालको गर्जो टार्न मात्र गर्छन् ।’

जंगलमा बस्ने, कन्दमूल खाने, गुनाबाँदरको सिकार गर्ने फिरन्ते जीवनशैली अपनाइरहेको राउटे समुदायमा कुनै सदस्यको मृत्यु भए अर्को ठाउँ बसाइँ सर्ने परम्परा छ । आधुनिक औषधि उपचारप्रति पनि उनीहरू विश्वास गर्दैनन् बरु घाउ–चोटपटक लागे जडीबुटी प्रयोग गर्ने महामुखिया शाहीले बताए ।

सरकारले २०६४ सालदेखि राउटेलाई मासिक प्रतिव्यक्ति ३ हजार रुपैयाँ भत्ता दिइरहेको छ । पैसा छोए पाप लाग्छ भन्ने उनीहरू अचेल सरकारले दिने भत्तादेखि अन्य मानिससँग पैसा माग्ने काममा अभ्यस्त भएको स्थानीय कमला विकले बताइन् । अशिक्षाको अन्धकारमा बाँचिरहेको राउटे समुदायमा सरकारी भत्तापछि मदिराको अम्मल झनै बढ्न थालेको देखिन्छ ।

भत्ता पाउनुअघि उनीहरू आफ्नै घरमा बचेको भात र जडीबुटी मोलेर जाँड बनाउँथे । पछिल्ला वर्ष बजारिया मदिरा प्रयोग बढाएका छन् । कमसल बजारिया मदिराका कारण उनीहरूको स्वास्थ्य झनै बिग्रँदै गइरहेको छ । छेउछाउका पसलेहरूले पनि उनीहरूले भत्ता पाएपछि उधारो तिर्छन् भन्ने विश्वासले उधारोमा रक्सी बेच्ने गरेका छन् ।

स्वास्थ्य, शिक्षाप्रति सामान्य चेतना नहुँदा राउटेहरूमा पेट दुख्ने, टाउको दुख्ने, मुटु सुन्निनेजस्ता समस्या देखिएको छ भने अधिकांश बालबालिका कुपोषणले ग्रसित छन् । ‘समयमा खानपानभन्दा पनि मदिराको प्रयोग धेरै भएकाले विभिन्न रोग देखा पर्न थालेका छन्,’ अर्की शिक्षिका दुर्गा खत्रीले भनिन्, ‘सामान्य साक्षर मात्र बनाए उनीहरूलाई विभिन्न जोखिमबाट बचाउन सकिन्थ्यो ।’

भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाहीका अनुसार राउटेको एकै परिवारले मासिक ४० हजार रुपैयाँसम्म भत्ता बुझ्छन् । जसमध्ये अधिकांश रकम मदिरा सेवनमै सकिने गरेको छ । अहिले महाबु–२ मा १४१ राउटे बस्दै आएका छन् । समुदायमा मृत्युदर र जन्मदर बराबर हुँदा ५ वर्षयता उनीहरूको संख्या स्थिरजस्तै रहेको शाहीले बताइन् ।

विभिन्न संघसंस्थाबाट पाएका बाख्रा, कुखुरा, खाद्यान्नलगायत सामग्री उनीहरूले मदिरासँग साट्ने क्रम बढेको खत्रीले बताइन् । उनले भनिन्, ‘अरूले दिएको खाद्यान्न र लुगाफाटोले उनीहरूको घर व्यवहार चलिरहेको छ, अरू आवश्यकता केही छैन, जसका कारण सरकारले दिएको भत्ता रक्सीमै सक्न थालेका छन् ।’

विभिन्न संघसंस्था र सरकारी कार्यालयले गरेको लगानीअनुसार राउटेमा परिवर्तन आउनुको साटो परनिर्भरता बढिरहेको स्थानीय अगुवा दिनेश थापाको भनाइ छ । स्थानीय सरकारले राउटेको जिम्मा लिएपछि उनीहरू झनै परनिर्भर बन्न थालेको उनले बताए । कान्तिपुरबाट