आफ्ना नानीबाबुलाई भन्न सकौं, ‘तिमी म जस्तै बन्नुपर्छ’



अन्जु भट्टराई ।  महात्मा गान्धीसँगको एउटा घतलाग्दो किस्सा छ । एकदिन उनीकहाँ एउटी महिला आइन्, आफ्नो सानो छोरोलाई लिएर । महात्मा गान्धी आफैमा एक आर्दश थिए र मार्गदर्शक पनि ।

उनले गान्धी समक्ष अनुनय गरिन्, ‘हेर्नुहोस्, मेरो छोरोलाई चिनीको अम्मल छ । उसलाई यो लतबाट कसरी छुटाउने होला ?’

तब गान्धीले शान्त भावमा भने, ‘ठीक छ, यो समस्याको हल खोजौला । तर, मलाई पन्ध्र दिनको समय दिनुहोस् ।’ गान्धीको अनुरोध मान्दै महिला घर फर्किइन् । पन्ध्र दिन बित्यो । उनी छोरोलाई डोहोर्‍याउँदै गान्धीकहाँ पुगिन् ।

महिलाले गान्धीजीसँग उही कुरा दोहो¥यान्, ‘अब के गर्ने होला रु’

गान्धीले महिलाका छोरोलाई प्रेमपूर्वक आफ्नो नजिक बोलाए । अनि संक्षिप्तमा भने, ‘बाबु, चिनी धेरै खानु हुन्न । यसले स्वास्थ्यलाई राम्रो गर्दैन ।’

गान्धीको जवाफले ती महिला छक्क मात्र परिनन् क्रोधित पनि भइन् । आखिर यति भन्नका लागि गान्धीले किन पन्ध दिन कुराए । महिलाले अलि रिसाएको भावमा गान्धीसँग भने, ‘यति नै कुरा भन्नु थियो भने किन पन्ध्र दिनसम्म कुराउनुभयो रु’

गान्धीले जवाफमा भने, ‘त्यसबेला म स्वयम् चिनीको अम्मलमा थिएँ । यस पन्ध्र दिनभित्र मलाई चिनीको लतबाट मुक्त हुनका लागि थियो । मैले यो बाबुलाई चिनी छाड्नका लागि तबमात्र भन्न सक्छु कि, जब म आफै पनि चिनी छाड्न सकौं ।’

उपदेश होइन उदाहरण बनौं

अहिलेका आमाबुवाको साझा गुनासो छ, ‘मेरो छोराछोरी मोबाइलमा लम्पट हुन्छन् । खाना खाँदा पनि मोबाइल, पढ्दा पनि मोबाइल । राती मोबाइल बिना सुत्नै सक्दैनन् । ट्वाइलेट जाँदा मोबाइल नभइ हुन्न ।’

उनीहरुको प्रश्न उही हो, ‘के यस्तो बानी हटाउने कुनै उपाय होला रु’

यसको सर्वोत्तम उपाय हो, आफैलाई मोबाइलबाट मुक्त राख्ने । हामी के देख्छौं भने बुवाआमा सोफामा ढल्किएर मोबाइल चलाइरहेका हुन्छन् । अनि छोराछोरीलाई अर्ती दिइरहेका हुन्छन्, ‘नानीबाबु हो, मोबाइलमा झुन्डिनु हुन्न है ।’

बोली र व्यवहारमा जब यस्तो विरोधाभास देखिन्छ, हाम्रा नानीबाबुको मनोविज्ञानमा त्यसको कस्तो असर रहला रु

एउटा सर्वव्यापी भनाई छ, ‘घर नै बालबालिकाको पहिलो पाठशाला हो । आमाबुवा नै पहिलो शिक्षक–शिक्षिका हुन् ।’ वास्तवमै बालबालिकाले आफ्ना बुवाआमालाई अनुसरण गरिरहेका हुन्छन् । बुवाआमा के गर्छन्, कसरी बोल्छन्, कस्तो व्यवहार गर्छन् रु यी सबै कुरालाई उनीहरुले पच्छ्याइरहेका हुन्छन् । यस्तो स्थितीमा बुवाआमाले बोलीबाट होइन आफ्नो व्यवहारबाट नानीबाबुलाई सही मार्गदर्शन दिन सक्छन् ।

विद्वानहरुले भनेका छन्, ‘अरुलाई बदल्नका लागि जरुरी छ आफै बद्लिन ।’

किन भन्न सक्दैनौं, ‘तिमी म जस्तै बन्नुपर्छ’

जब हाम्रा नानीबाबु सानै हुन्छन्, उनीहरुलाई लाग्छ रे, ‘मेरो बुवाआमा संसारको सबैभन्दा जान्ने हुन् । शक्तिशाली हुन् । मायालु हुन् ।’

त्यसबेला बुवाआमा नै उनीहरुका लागि सर्वोपरी हुन्छ, आदर्श हुन्छ ।

तर, जति जति नानीबाबुहरु हुर्किदै जान्छन् आमाबुवाको खोट देख्न थाल्छन् । बुवाआमाको कमी–कमजोरी केलाउन थाल्छन् । यो मोडमा आइपुगेपछि हामी आफैले पनि यसो भन्ने सामथ्र्य गुमाइसकेका हुन्छौं कि, ‘छोरा तिमी म जस्तै बन्नु है । छोरी तिमीले मेरो बाटो पच्छ्याउनु है ।’

बरु हामी त उनीहरुलाई भनिरहेका हुन्छौं, ‘छोरा फलानो जस्तो बन्नुपर्छ ।’

आखिर किन हामीले आफ्ना नानीबाबुलाई यसो भन्न सक्दैनौं कि, ‘तिमी म जस्तै बन्नुपर्छ ।’

किनभने हामीलाई आफ्ना छोराछोरीले यसो भनेको पटक्कै मन पर्दैन, ‘म तपाईं जस्तै जड्याह बन्छु । तपाईं जस्तै धूर्त बन्छु । तपाईं जस्तै लोभी बन्छु । तपाईं जस्तै निर्दयी बन्छु । तपाईं जस्तै घुस्याहा बन्छु । तपाईं जस्तै व्यभिचारी बन्छु । तपाईं जस्तै चण्डाल बन्छु ।’

हामी स्वयम् भ्रष्टचार गर्छौं भने छोराछोरीलाई भन्न सक्दैनौं कि, ‘नानीबाबु तिमी पनि म जस्तै बन्नुपर्छ है ।’

हामी स्वयम् कामचोर छौं भने छोराछोरीलाई भन्न सक्दैनौं कि, ‘नानीबाबु तिमीहरु म जस्तै हुनु है ।’

किनकी हामी आफ्ना छोराछोरी सधै सत्यवान् र कर्मठ देख्न चाहन्छौं । उनीहरु समृद्ध, प्रभावशाली र प्रखर देख्न चाहन्छौं । उनीहरु इमानदार, कर्तव्यनिष्ठा र कर्मयोगी देख्न चाहन्छौं । तर, हामीले आफ्ना बालबालिकलाई जस्तो देख्न चाहेका छौं, हामी आफैं चाहिँ त्यस्तो बन्ने प्रयासमा छौं वा छैनौं रु मनन गर्नैपर्ने प्रश्न हो ।

रोल मोडल बन्ने कि रु

कुनैदिन छोराछोरीलाई सोधौं, ‘तिमी कस्तो बन्न चाहन्छौं रु’

त्यसबेला छोराछोरीले भनुन्, ‘तपाईं जस्तै ।’

यतिबेला हाम्रो छाती गर्वले चौडा हुँदो हो । आफुले गरेको काम, आफुले प्राप्त गरेको यश, आफुले अंगालेको जीवन पद्धती धन्य लाग्दो हो । र, आफुलाई सार्थक ठान्दो हो ।

मेरो नानीबाबु म जस्तै सभ्य नागरिक बन्न चाहन्छन् । म जस्तै इमानमा जिउन चाहन्छन् । म जस्तै सत्यको आडमा उभिन चाहन्छन् । म जस्तै रचनात्मक क्षमता विकास गर्न चाहन्छन् । म जस्तै सबैप्रति प्रेमभाव जगाउन चाहन्छन् । म जस्तै दयालु बन्न चाहन्छन् । म जस्तै कर्मयोगी बन्न चाहन्छन् । म जस्तै सकारात्मक र उत्साहित बन्न चाहन्छन् ।

छोराछोरीले सानो छँदा हामीलाई जुन आँखाले हेर्छन्, जीवनभर त्यही दृष्टि कायम रहोस् । उनीहरुलाई सधैभरी यस्तो लागोस्, ‘मेरो बुवाआमा जस्तै जीवनलाई सार्थक बनाउन सकियोस् ।’

खासमा आमाबुवा ‘रोल मोडल’ बन्न सक्नुपर्छ, आफ्ना छोराछोरीका लागि ।

रोल मोडल बन्नका लागि ठूलै काम गर्नुपर्छ भन्ने छैन । बरु त्यस्ता सामान्य कामहरु गर्न सकिन्छ, जो उनीहरुको जीवनमा सधै मार्गदर्शन बन्न सकोस् । हाम्रो जीवनशैली, हाम्रो बोली–वचन, हाम्रो कार्यकुशलता, हाम्रो सोंच–चिन्तन नै उनीहरुको लागि अनुकरणिय बनोस् ।

छोराछोरीको सबैभन्दा नजिकका मान्छे हुन् आफ्ना आमाबुवा । र, छोराछोरीलाई सबैभन्दा प्रभाव पार्नसक्ने व्यक्ति हुन् आफ्नो आमाबुवा । त्यसैले हामीले जे गर्छौं, जस्तो बोल्छौं, जे खान्छौं, जस्तो व्यवहार गछौं त्यो सबैको गहिरो प्रभाव उनीहरुको मस्तिष्कमा रहन्छ । उनीहरु पनि त्यस्तै हुन्छन्, बुवाआमा जस्तो छन् ।

तपाईं क्रोधी, लोभी, जिद्दी, कठोर, निर्दयी हुनुहुन्छ भने तपाईंले आफ्नो छोराछोरीलाई त्यस भन्दा विपरित पाउनुहुन्न । तर, तपाईं सधै खुसी हुनुहुन्छ, उत्साहित हुनुहुन्छ, उर्जावान हुनुहुन्छ भने छोराछोरीमा तपाईंको गुण आउँछ ।

त्यसैले तपाईं पक्का हुनुहुहोस् कि, मेरो छोराछोरी कस्तो बनाउने भन्दा म कस्तो बन्ने रु

तपाईं जस्तो बन्नुहुन्छ, नानीबाबुहरु त्यस्तै बन्न चाहन्छन् । अनलाइनखबरबाट