-देवीराम आचार्य
साउन २ गते कान्तिपुरमा प्रकाशित दसपटकसम्म विज्ञापन गर्दा पनि गणित विषयको शिक्षक नपाइएको शीर्षकको समाचारले सरोकारवालाहरूको ध्यान खिच्यो । गाउँका विद्यालयहरूमा शिक्षक अभावको यस्तो कथा धेरै पहिलेदेखिकै हो ।
महालेखापरीक्षकको २०४० सालको प्रतिवेदनमा गणित र विज्ञान शिक्षकको अभावलाई शिक्षा क्षेत्रको समस्याका रूपमा उल्लेख गरिएको थियो । गणित र विज्ञान विषयका शिक्षकको अभाव ४० वर्षसम्म पनि उस्तै गरी देखिएको छ । विज्ञान शिक्षकलाई तालिम दिन विज्ञान शिक्षा परियोजना र गणितलाई रुचिकर बनाई यसमा विद्यार्थी बढाउन यूएसएआईडीको सहयोगमा अर्को परियोजना सञ्चालित भएका थिए । तर पनि शिक्षक तयारी, विकास र हरेक वर्ष कति शिक्षक आवश्यक पर्छ भन्ने प्रक्षेपण गर्ने संस्कार र पद्धति विकास नहुँदा ४० वर्षसम्म पनि गणित र विज्ञानका शिक्षकको अभाव भइरहेकै छ । शिक्षक तयार गर्ने काम विश्वविद्यालयहरूबाट हुने गरेको छ तर त्यो पूर्ण छैन र गुणस्तरीय पनि हुन सकेको छैन । विश्वविद्यालयमा शिक्षाशास्त्रका विषयहरू पढाइन्छन्, ती विषय पढेका विद्यार्थीले अध्यापन अनुमतिपत्रको परीक्षा दिन्छन्, तिनीहरू नै शिक्षक छनोट परीक्षामा सहभागी हुन्छन् र शिक्षक बन्छन् । गाउँपालिका वा विद्यालयहरूमा पनि अध्यापन अनुमतिपत्र भएका व्यक्तिहरू अस्थायी, करार, राहत, संघीय अनुदान, प्रदेश अनुदान, पालिका शिक्षक, स्वयंसेवकजस्ता विभिन्न नाममा शिक्षक बन्छन् ।
विश्वविद्यालय अनुदान आयोगको पछिल्लो प्रतिवेदन अनुसार देशभरका १,४४० उच्च शिक्षाका शैक्षिक संस्थामध्ये ५६३ मा शिक्षाशास्त्रको अध्यापन हुने गर्छ । उच्च शिक्षामा अध्ययनरत जम्मा विद्यार्थीमध्ये २२।१८ प्रतिशतले शिक्षाशास्त्रको अध्ययन गर्छन् र तीमध्ये ६३ प्रतिशत छात्रा छन् । शिक्षाशास्त्र संकाय अध्ययन गर्नेहरू मात्र शिक्षक बन्न पाउने प्रावधान छ । केही तोकिएका विषयमा शिक्षाशास्त्र अध्ययन नगरे पनि अध्यापन अनुमतिपत्रको परीक्षा दिन पाइए पनि शिक्षाशास्त्र संकाय अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था छ । त्रिविमा सबैभन्दा कम विद्यार्थी उत्तीर्ण हुने संकायमा शिक्षा पर्छ । यसको उत्तीर्णदर २०७५ मा १६ प्रतिशत मात्र थियो । संकायकै गुणस्तर कमजोर भएको, शिक्षाशास्त्र संकायमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थी भर्ना हुने गरेको, अधिकांश ग्रामीण क्षेत्रमा शिक्षाशास्त्रको पढाइ भइरहेको जस्ता कारणले अब्बल शिक्षक उत्पादन हुन सकेका छैनन् । गत वर्ष शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि गरेको विज्ञापनमा तीनै तहमा गरी ३,९६१ पदमा पदपूर्ति हुन सकेन ९हेर्नुस्, कान्तिपुर, २०७९ चैत ३० । स्थायी पदमा समेत शिक्षक पदपूर्ति हुन नसकिरहेको अवस्थामा खासखास विषयमा शिक्षक नपाइनु स्वाभाविक पनि हुन सक्छ ।
दस पटकसम्म विज्ञापन गर्दा पनि शिक्षक नपाइएको, ४० वर्षअगाडिदेखि नै निरन्तर रूपमा त्यही समस्या देखिइरहेको र स्थायी शिक्षकको समेत पदपूर्ति नभइरहेको पृष्ठभूमिमा गणित र विज्ञान विषयको शिक्षक तयारीका सन्दर्भमा फरक र नयाँ अभ्यासहरूको अवलम्बन गर्नु जरुरी छ । गणित र विज्ञान विषयका शिक्षकको अभावका सन्दर्भमा हेर्दा, माध्यमिक तहबाट उच्च शिक्षामा गणित र विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीको संख्या तथा माध्यमिक तहमा विज्ञान र गणित विषय पढ्नका लागि योग्यतासहित उत्तीर्ण हुने विद्यार्थी संख्या अझ महत्त्वपूर्ण हुन्छ । गत महिना मात्र प्रकाशित एसईईको नतिजामा सबैभन्दा धेरै विद्यार्थी गणितमा कमजोर पाइए । जम्मा परीक्षार्थीमध्ये ३३ प्रतिशत विद्यार्थीको ई ग्रेड आएको छ । परीक्षामा २० भन्दा कम अंक प्राप्त भएमा ई ग्रेड दिने गरिन्छ । यसरी हेर्दा गणितमा अरू १० प्रतिशत विद्यार्थीको डी ग्रेड र १२ प्रतिशतको डी प्लस ग्रेड आएको छ । जम्मा परीक्षार्थीमध्ये गणित विषयमा ५५ प्रतिशतको सिकाइस्तर ग्राह्य अवस्थाको देखिन्छ । विद्यार्थीको राष्ट्रिय सिकाइ उपलब्धि परीक्षणको नतिजाले समग्रमा करिब ७० प्रतिशत विद्यार्थीले कक्षामा सिक्नुपर्ने न्यूनतम सिकाइस्तर हासिल नगरेको देखाएको छ । कक्षा ३ पूरा गरेर ४ मा जाने ५० प्रतिशत विद्यार्थीमा संख्याको ज्ञानै भएको हुँदैन । ललितपुरको एउटा गाउँपालिकाका १६ विद्यालयका कक्षा ३ का १३७ विद्यार्थीमा गरिएको परीक्षणमा ९१३५ लाई एक सय पैंतीस भनेर० पहिचान गर्न सक्ने विद्यार्थी ४१ जना मात्र थिए । कक्षा ५ मा पुगेका ६० प्रतिशतभन्दा धेरै विद्यार्थीले गणितका आधारभूत ज्ञान जोड, घटाउ, गुणन र भागका सीपहरू सिकेका हुँदैनन्, जसले गर्दा माथिल्ला कक्षाहरूमा गणित सिक्न सक्दैनन् ।
राष्ट्रिय परीक्षा बोर्ड अनुसार, कक्षा ११ मा भर्ना हुनका लागि समग्रमा जीपीए १।६ भए पुग्छ । यद्यपि विद्यार्थीले आफ्नो सिकाइस्तरको मूल्यांकन आफैंले गरेरै कुन विषय पढ्ने वा नपढ्ने रोज्ने हुनाले सामान्यतया ५० भन्दा कम अंक ल्याउने विद्यार्थीले गणित विषय पढ्ने सम्भावना ज्यादै कम हुन्छ । खास कारणले परीक्षा बिग्रिएका केही विद्यार्थीले पढ्लान् । यस अर्थमा यो वर्ष ४५ प्रतिशत विद्यार्थी गणित पढ्न योग्य छन् तर तीमध्ये कतिले गणित वा विज्ञान पढ्लान् रु तथ्यांक सार्वजनिक भएको छैन तथापि तीमध्ये कति सामुदायिकबाट होलान् रु र, कति विद्यार्थी शिक्षण पेसाका लागि तयार भई शिक्षक सेवा आयोगबाट अध्यापन अनुमतिपत्र लिएर शिक्षक बन्न तयार होलान् । अहिले २०८० मा विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक उपलब्ध हुन सकेनन् भने २०८१ मा चाहिँ होलान् रु त्यस्तो आधार पाइँदैन । कक्षा १० को कमजोर सिकाइस्तर भएका विद्यार्थीहरूले विज्ञान, गणित र अंग्रेजी विषय अध्ययन गर्दैनन् । परीक्षामा अंक जेजति आए पनि कुनै विषयमा आफ्नो सिकाइस्तर कति छ र त्यो विषयको रुचि कस्तो छ, विद्यार्थी आफैंले छनोट गर्छन् । विद्यालय तहको कमजोर सिकाइ अवस्थाले उच्च शिक्षामा प्राविधिक विषय पढ्ने विद्यार्थी प्रतिशत घटिरहेको छ र साधारण शिक्षामा बढिरहेको छ । तीन वर्षयता प्राविधिक उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या २३ प्रतिशतबाट घटेर २० मा पुगेको छ ।
शिक्षक तयारी कोर्स बीएडमा गणित र विज्ञान पढ्ने विद्यार्थी एकदमै कम छन् र क्रमशः घटिरहेका छन् । बीएडमा गणित र विज्ञान पढ्नका लागि कक्षा ११ र १२ मा गणित वा विज्ञान पढेकै हुनुपर्छ र त्यसका लागि विद्यालयमा राम्रो सिकाइ भएको पनि हुनुपर्छ । कक्षा ११ र १२ मा गणित र विज्ञान पढ्ने विद्यार्थी पनि एकदमै कम छन् र क्रमशः घटिरहेका छन् । कक्षा ११ र १२ मा गणित र विज्ञान पढ्ने निजी विद्यालयका सहरकेन्द्रित विद्यार्थी मेडिकल तथा इन्जिनियरिङतर्फ जान्छन् र त्यो भएन भने उनीहरूको लक्ष्य विदेश हुन्छ । विद्यार्थीहरू विदेश जाने सावलमा अर्कै बहस होला तर आजका दिनमा गणित र विज्ञान पढेका, सहरी क्षेत्रका, मध्यमवर्गीय परिवारका युवायुवती नेपालमा बस्न चाहँदैनन् ।
ग्रामीण क्षेत्रका केही पालिकाले डाक्टरी र इन्जिनियरिङ पढाउने घोषणा गरिरहेका छन् । तर त्यस्ता पालिकाका विद्यालयहरूबाट कति विद्यार्थीले डाक्टरी र इन्जिनियरिङ पढ्न सक्ने ल्याकत राखेर विद्यालय उत्तीर्ण गर्छन् रु त्योभन्दा महत्त्वपूर्ण, विद्यालय तहको शिक्षण सिकाइमा सुधार गरेर अब्बल विद्यार्थी बनाउन सकियो भने उसलाई पढ्न पालिकाले खर्च गर्न नपर्ला र छात्रवृत्तिमै पढ्न पाउला । यदि दीर्घकालीन दृष्टिबाट हेर्ने हो भने अहिले पालिकाहरूले विद्यालयमा गणित र विज्ञानका राम्रा शिक्षक तयार गर्नतर्फ लगानी गर्नु उपयुक्त हुन्छ, ताकि चारपाँच वर्षपछि डाक्टरी र इन्जिनियरिङ पढ्ने धेरै विद्यार्थी तयार हुन सकून् ।
शिक्षक व्यवस्थापन हाम्रो शिक्षा प्रणालीको दीर्घरोग नै भएको छ । शिक्षक तयारी, विकास र व्यवस्थापनका पक्षमा संवेदनशील हुन सकिएको छैन । कतै विद्यार्थी छन् त शिक्षक छैनन्, कतै शिक्षक छन् त विद्यार्थी छैनन् । सहरी क्षेत्रमा शिक्षक अभाव छैन तर ग्रामीण क्षेत्रमा शिक्षक नै पाइँदैनन् र पाइएका शिक्षक पनि लामो समय बस्दैनन् । गुणस्तरीय शिक्षकबाट सिक्ने अधिकारको प्रत्याभूति हुन सकेको छैन । शिक्षक तयारी, शिक्षक विकास, शिक्षक व्यवस्थापनका परम्परागत ढाँचामा परिवर्तन जरुरी छ । सूचना प्रविधिका कारण शिक्षक व्यवस्थापनलाई नयाँ ढाँचाबाट विकास गर्न सकिने अवसर छ । पालिकाहरूले अब बहुविद्यालय शिक्षक, मुख्य शिक्षक र सहायक शिक्षक, प्रविधि शिक्षकजस्ता अवधारणाहरूबाट शिक्षक व्यवस्थापन रणनीति तय गरी शिक्षक व्यवस्थापन गर्न सक्छन् । शिक्षाबाहेक अन्य संकाय अध्ययन गरेका व्यक्तिहरूलाई पनि अवसर दिन र केही छोटो समयका सघन कोर्सहरू सञ्चालन गर्न सकिन्छ । पालिका तहबाटै शिक्षक तयारी र विकासमा लगानी सुरु गर्न सकियो भने अबका पाँच वर्षमा शिक्षक आपूर्ति सहज हुनेछ । अन्यथा यसरी नै अरू ४० वर्षसम्म पनि शिक्षक नपाइने अवस्था रहन सक्छ । कान्तिपुरबाट