काठमाडौं, दाङ, बाँके, दैलेख, पाल्पा, म्याग्दी — मेरो जीवनका खाली पाना
अझै बाँकी पो रहेछन्
लाग्थ्यो, औपचारिक शिक्षाले
मेरो जीवनमा पूर्णविराम पायो
तर, धन्य मेरो गुरुकुल
मलाई बाल्यकालमा फर्कायो।।।
५४ वर्षको उमेरमा विद्यालय शिक्षाको खुट्किलो पार गरेकी कल्पना पोखरेलको मनका बह हुन् यी । २०४३ सालमा एसएलसी पास गरेलगत्तै उनी विवाह बन्धनमा बाँधिइन् । दुई छोरीको हेरचाह र पढाइमा समय बितेको पत्तै पाइनन् ।
आईएस्सी उत्तीर्ण श्रीमान्लाई एमएस्सी पूरा गर्न साथ दिइन् । श्रीमान् अहिले वन मन्त्रालयका उपसचिव छन् । जेठी छोरीले एमबीबीएस पूरा गरी गण्डकी मेडिकल कलेजमा प्रशिक्षार्थीका रूपमा काम गर्दै छिन् । कान्छी अमेरिकामा आईटी इन्जिनियर छिन् ।
‘एसएलसी उत्तीर्ण गरेको ३७ वर्षपछि यसै वर्ष १२ कक्षा पास भएँ,’ कल्पनाले भनिन्, ‘घर व्यवहारमा फसेर अधुरै रहेको पढाइलाई ३५ वर्षपछि अघि बढाएर सफलता पाउँदा औधी खुसी छु ।’ ऐना हेर्दा सेतै फुलेको केसले बुढ्यौली लागेको आभास दिलाए पनि पुस्तक पढ्दा बाल्यकालको स्मरण हुने उनले सुनाइन् । आफ्नो अधुरो शिक्षालाई पूरा गराउन श्रीमान् र छोरीले साथ दिएकामा उनी धन्य छिन् ।
चीनमा कोरोना संक्रमण देखिएपछि २०७८ सालमा एमबीबीएस गरिरहेकी छोरीलाई सरकारले उद्धार गरेर नेपाल ल्याइदियो । दुई वर्षसम्म यतै रहँदा आमाछोरीले सुख–दुःखका कुरा साट्न पाए । ‘एक दिन छोरीले मेरा इच्छाबारे चासो राखिन्,’ कल्पनाले भनिन्, ‘मैले पढ्न मन लागेको कुरा बताएँ ।’ त्यसपछि अमेरिकामा रहेकी कान्छी छोरीले ‘यहाँ त बूढाबूढी पनि पढ्छन् नि’ भनेर हौस्याएपछि जेठी छोरीलाई लिएर स्कुल खोज्न गइन् । ‘सातदोबाटोको प्रेरणा महिला माध्यमिक विद्यालयमा भर्ना भएँ,’ कल्पनाले भनिन्, ‘त्यहाँ मजस्तै अधुरो शिक्षा पूरा गर्न आएका अरू पनि रहेछन् ।’ यही विद्यालयबाट यसै वर्ष उनले २।८९ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरिन् । ‘बुढेसकालको फल हो यो । यसलाई निरन्तरता दिन्छु,’ हर्षको आँसु पुछ्दै उनले भनिन् ।
राष्ट्रिय परीक्षा बोर्डले दुई साताअघि सार्वजनिक गरेको १२ कक्षाको नतिजामा उच्च शिक्षा अध्ययन गर्न सूचीमा कल्पनाजस्तै २।६४ जीपीए ल्याएर रामेछापकी ७९ वर्षीया रत्नकुमारी सुनुवारले पनि १२ कक्षा पूरा गरेकी छन् । उनले ६ वटै विषयमा सीभन्दा माथिल्लो ग्रेड ल्याएकी छन् । २००१ सालमा जन्मिएकी उनले २० वर्षमा विवाह गरिन् । तीन छोरा र एक छोरीकी आमा उनले जन्मघर दोलखामा पढ्नै पाइनन् । ‘विवाहपछि पनि घर व्यवहारमा फस्दा पढ्नै पाइनँ,’ उनले भनिन्, ‘छोरी–बुहारीले पढ्नु हुँदैन भन्ने जमानामा जन्मिएँ । त्यसमाथि गाउँमा स्कुल पनि थिएनन् । अहिले आएर पढें । पढ्नलाई उमेरले छेक्दो रहेनछ ।’
२०३६ तिर उनको परिवार काठमाडौं आएको हो । २०५५ मा टोलकै क्लबले चलाएको प्रौढ कक्षामा सात वर्षसम्म पढिन् । ‘गाउँमा हुँदा अक्षर चिनेकी थिइनँ । प्रौढ कक्षाले पढ्न जान्ने भएँ,’ उनले भनिन् । तीनकुनेको उत्प्रेरणा महिला विद्यालयमा चार वर्ष पढेपछि २०७८ मा एसईई पूरा गरिन् । बानेश्वर बहुमुखी क्याम्पसबाट ११ कक्षा पूरा गरेपछि उनले आँखा कम देख्न थालिन् । अक्षर ठम्याउनै हम्मे पर्यो । सुगर र प्रेसरको समस्या देखियो । त्यसपछि क्याम्पस जान कम गरिन् ।
१२ कक्षाको परीक्षा दिन नसक्ने भएपछि सहयोगीमार्फत परीक्षा दिइन् । ११ पढ्ने नाति लोकेन्द्र शाहीले परीक्षामा लेखेर सहयोग गरे । ‘नातिले प्रश्न पढेर सुनाउँथ्यो । उत्तर मैले नै भन्थें,’ उनले भनिन्, ‘परीक्षा राम्रो भएको थियो । पास भएछु ।’ विद्यालय पढ्न जाँदा छिमेकी र आफन्तले कुरा काट्ने गरेको उनले सुनाइन् । ‘बूढीमाउ यो उमेरमा पनि के लखरलखर हिँड्दै पढ्न हिँडेकी रु घाम तापेर नबसेर किन पढेको होला भन्थे,’ उनले हाँस्दै भनिन्, ‘घाम तापेर बसेको भए मैले १२ कक्षा पास गर्थें र ?’
संयोग, एसईई र १२ कक्षा उनले नाति सँगसँगै पूरा गरिन् । माइला छोराका जेठा नातिले यसै वर्ष उनीसँगै १२ कक्षा पूरा गरेका हुन् । ‘नातिले अब १३ कक्षा पढ्छ होला । मैले पनि आँखा देखे त पढ्थें नि,’ ९ महिनादेखि थलिएकी उनले भनिन्, ‘जागिर खान मात्रै पढ्ने होइन, अरूलाई प्रोत्साहन गर्न पनि पढ्नुपर्ने रहेछ ।’
आमाछोरा सँगसँगै
भक्तपुरको च्यामासिंहबाट कमल विनायतर्फ अघि बढ्दा भेटिने लबजु फर्निचरकी सञ्चालक हुन्, ४२ वर्षीया लक्ष्मीकेशरी गोसाई । २०५५ सालमै एसएलसी पास गरेकी उनी भक्तपुर क्याम्पस भर्ना त भइन् तर आईए पूरा नगर्दै विवाह बन्धनमा बाँधिइन् । एक छोरा र छोरी हुर्काउने, श्रीमान्लाई व्यापारमा सघाउनुपर्ने जिम्मेवारी थपियो । पढाइलाई निरन्तरता दिन सकिनन् । श्रीमान्ले पनि बच्चा हुर्केपछि मात्रै पढाइ सुरु गर्न सल्लाह दिए ।
२०७७ सालमा छोराले एसईई पूरा गरेपछि मात्रै उनले पढ्ने निधो गरिन् । छोराले साइन्स पढे, उनले व्यवस्थापन । आमाछोराको विद्यालय रोजाइ एउटै भयो । च्यामासिंहको बागेश्वर माध्यमिक विद्यालयमा लक्ष्मी बिहानी समूहमा भर्ना भइन्, छोरा दिउँसोको समूहमा भर्ना भए । छोरालाई नियमित विद्यालय पठाए पनि उनी भने फुर्सदका बेला मात्रै क्याम्पस जान्थिन् । कक्षामा जाने बेला ५ बजे उठेर खाना पकाउँथिइन् । आठ कक्षामा पढ्ने छोरी उनी कक्षाबाट नफर्किंदै विद्यालय गइसक्नुपर्थ्यो । ११ कक्षाको पहिलो कक्षामा जाँदा उनको अनुभव छ, ‘पहिलो दिन कक्षामा छिर्नेबित्तिकै सबै जना गुडमर्निङ म्याम भनेर उठे । खुसी पनि लाग्यो । म म्याम होइन, तिमीहरूजस्तै विद्यार्थी हुँ भन्दा सबैले आश्चर्य माने ।’
एसएलसी पास भएको २५ वर्षपछि उनले छोरासँगै विद्यालय तहको अधुरो यात्रा पूरा गरेकी हुन् । १२ कक्षाको अन्तिम परीक्षामा आमाछोराको सेन्टर एउटै विद्यालयको एउटै कोठामा पर्यो । ‘छोरा अगाडि र म पछाडि । बाबुलाई अप्ठ्यारो भयो । सबैले मलाई देखाएर उसको ममी भन्थे,’ उनले भनिन्, ‘सँगै परे पनि मैले उसलाई त्यति डिस्टर्ब गरिनँ ।’ परीक्षा सकिएपछि उनलाई आफ्नोभन्दा बढी छोराको रिजल्टको चिन्ता थियो । तर, दुवैको रिजल्ट राम्रो भयो ।
‘पहिला छोराछोरीले पढेनन् भनेर गाली गर्थें । आफैंले पढेपछि थाहा पाएँ, पहिलाको पढाइ र अहिलेको पढाइमा धेरै फरक रहेछ,’ उनले सुनाइन् । १२ कक्षा पूरा गरेपछि छोरा एमबीबीएसको तयारीमा छन् भने उनी बीबीएस पढ्ने सोचमा छिन् । ‘व्यापार गर्नेले कानुन थाहा छैन भनेर हुँदैन,’ उनले भनिन्, ‘त्यसैले म्यानेजमेन्ट पढ्ने निधो गरेकी हुँ ।’ हरेक घरमा आमा शिक्षित हुनुपर्ने उनको बुझाइ छ । भन्छिन्, ‘आमा शिक्षित भइन् भने घर नै शिक्षित हुन्छ ।’
विद्यालय टप निशा
कक्षा ८ मा पढ्दै गर्दा ओखलढुंगाकी निशा बादे बरालको विवाह भयो । छोरी जन्मिएपछि भने उनको पढाइ रोकियो । श्रीमान्को फर्निचरको व्यापार व्यवसाय थियो । छोराछोरी विद्यालय पठाएर उनी दिउँसो श्रीमान्लाई सहयोग गर्न पुग्थिन् । हरहिसाब राख्न पनि श्रीमान् उनलाई पढाउन चाहन्थे । ६ वर्षअघि भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा उनी ७ कक्षामा भर्ना भइन् ।
‘पहिला नै ८ कक्षा पढेकी थिएँ । पढ्न सक्दिन कि भनेर श्रीमान्ले ७ मै राखिदिनुभयो,’ उनले भनिन् । त्यसपछि उनी हरेक कक्षामा प्रथम हुँदै गइन् । एसईईमा ३।२ जीपीए ल्याइन् । यसपालि पनि शिक्षा समूहमा उनले विद्यालय टप गरेकी छन् । भक्तपुर सानोठिमीको आदर्श माध्यमिक विद्यालयबाट २।९५ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरेकी छन् । अनुमतिपत्र लिएर शिक्षक बन्ने उनको सपना छ ।
दाङको तुलसीपुरस्थित मावि कालाखोलामा ७ कक्षामा पढ्दै गर्दा १५ वर्षको उमेरमै विवाह भएपछि कमला सुवेदीको पढाइ छुट्यो । बुहारी बनेपछिका जिम्मेवारी पूरा गर्दै गोग्लीस्थित कर्मघर छेउको मावि डाँडागाउँमा ७ कक्षामा भर्ना भइन् । पहिलो त्रैमासिकको परीक्षा पास गरेपछि भने उनले पढाइ अगाडि बढाउन सकिनन् । विवाहको दुई वर्षपछि २०५७ सालमा छोरी जन्मिएपछि उनी घरकै काममा व्यस्त भइन् । तीन वर्षपछि छोरा जन्मिए । छोरा पाँच वर्षको भएपछि उनले घोराहीस्थित नेपाल महिला सामुदायिक सेवा केन्द्रमा बचत संकलकको काम थालिन् । ‘नपढेको मान्छे अपूर्ण भएजस्तो लाग्यो । बचत उठाउन जाँदा पनि नपढेको मान्छे हिसाब बिगार्छे कि भनेजस्तो गर्थे,’ उनले सुनाइन्, ‘अनि, मलाई पढेर पूर्ण मान्छे बन्न मन लाग्यो ।’
छोराछोरी हुर्किरहेका बेला उनले घोराहीमा चेतना महिला विद्यालय खुलेको थाहा पाइन् । पढाइ छुटेकालाई पढाउने स्कुल हो भन्ने थाहा पाएपछि उनी २०६८ मा कक्षा २ मा भर्ना भइन् । पढाइको पुरानो पृष्ठभूमिका कारण उनी दुई वर्षपछि नै ८ कक्षामा पुगिन् । स्कुलमा ८ कक्षामाथिको पढाइ नभएपछि उनी माइती गाउँ नजिकैको तुलसीपुरस्थित महेन्द्र माविमा ९ कक्षामा भर्ना भइन् । २०७२ मा एसएलसी पास गरिन् । ‘मैले अघिल्लो वर्ष र छोरीले पछिल्लो वर्ष एसएलसी दिएका थियौं,’ उनले सुनाइन्, ‘घरमा छोराछोरी दुवैले मलाई अंग्रेजी पढ्न सघाउँथे । मैले भने उनीहरूलाई नेपाली सिकाउँथें ।’
घरको सारा काम भ्याएर पनि उनले कहिल्यै पढ्ने जाँगर गुमाइनन् । महेन्द्र माविमा शिक्षा संकायअन्तर्गत ११ र १२ कक्षा पढिन् । जागिरका कारण उनी साताको एक दिन मात्रै स्कुल जान्थिन् । अरू बेला घरमै पढ्थिन् । ‘परीक्षा दिन जाँदा छोराछोरीजस्ता साथीहरू वरिपरि हुन्थे । अन्टी भनेर बोलाउँथे,’ उनले भनिन्, ‘रमाइलो नै लाग्यो । पढ्न रहर भएकाले लाज पचाएर भए पनि पढियो ।’ एसएलसीसम्म पढेका कमलाका श्रीमान् लुमाकान्त लमही आँखा अस्पतालमा काम गर्छन् । उनले श्रीमान्लाई पनि सँगै पढ्न जाऊँ नभनेकी होइनन् । तर, उनले मानेनन् । १२ पास भएपछि पनि कमलालाई पढ्ने धोको मरेको छैन । ‘तर, आफैंले निर्णय गर्न सकेकी छैन, घर व्यवहार र जागिर सबै भ्याएर पढ्न सकौंला त रु,’ कमलाले सुनाइन्, ‘समाजमा बिक्ने धन भनेकै शिक्षा रहेछ ।’
छोरा शिक्षक, आमा विद्यार्थी
०४२ सालमा दैलेख बजारको त्रिभुवन माविबाट कक्षा ९ उत्तीर्ण गर्दा जगतकुमारी बीसीलाई कहिल्यै लागेको थिएन, एसएलसी पास गर्न २८ वर्ष पर्खिनुपर्ला भनेर । पढ्ने रहर हुँदा पनि भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीकी ५० वर्षीया जगतकुमारीले बिहेपछि पढ्न पाइनन् । ९ कक्षाको पढाइ छुटेको २८ वर्षपछि उनी फेरि विद्यालय भर्ना भइन् । पति र छोराछोरीले हौसला दिएपछि ०७० सालमा मतलपाटास्थित महादेव माविबाट एसईई उत्तीर्ण भइन् । त्यसपछि पढाइ फेरि रोकियो । घर व्यवहार धानेर पढ्न जान उनलाई सजिलो भएन । तर, पढेरै छाड्ने अठोट मनभित्र हुर्काइरहेकी जगतकुमारीले एसईई उत्तीर्ण गरेको झन्डै ८ वर्षपछि ०७८ मा कक्षा ११ भर्ना भइन् । यस वर्ष जाजरकोटको छेडागाड नगरपालिका–४ स्थित रामोदय माविबाट २।७७ जीपीए ल्याएर उनले कक्षा १२ उत्तीर्ण गरिन् ।
६ सन्तानकी आमा जगतकुमारीले १२ पास गरेको त्यही स्कुल हो, जहाँ उनका छोरा पदम शिक्षक छन् । ‘बुढ्यौलीमा एकाएक पढ्ने रहर जाग्यो,’ जगतकुमारीले भनिन्, ‘त्यो रहरलाई परिवारका सदस्यले साथ दिए, मैले पढेर देखाएँ ।’ सबै छोराछोरीले उच्च शिक्षा हासिल गरेपछि घरपरिवारकै सल्लाहमा पढाइलाई निरन्तरता दिएको जगतकुमारीले बताइन् । ‘१२ पास भएपछि स्नातक पढ्ने रहर जागेको छ,’ उनले भनिन्, ‘पहिला मैले छोराछोरीलाई पढाएँ, अहिले उनीहरूले मलाई पढाइरहेका छन् ।’ आफू नियमित विद्यालय जान नपाए पनि छोराले घरमै पढाएकाले १२ पास गर्न सम्भव भएको उनको अनुभव छ । ‘जेठो छोरा स्कुल पढाउँछ,’ उनले भनिन्, ‘माइलो र मैले सँगै एसईई परीक्षा उत्तीर्ण गरेका हौं ।’ बुढ्यौलीमा १२ पास गरेपछि जगतकुमारीले कैयन् दिनसम्म आफन्त र छरछिमेकीको बधाई पाइन् । ‘शिक्षा बूढो हँॅदैन भन्ने बल्ल बुझें,’ उनी भन्छिन् ।
नियमित स्कुल नगई पास
बाँकेको कोहलपुर–६, रझेनाकी ४१ वर्षीया मन्जु चौधरीलाई भदैले टेलिफोनबाट सुनाएको खबर सुरुमा त पत्यारै लागेन । उनले त्यो दिन सम्झिँदै भनिन्, ‘पास हुँलाजस्तो लागेकै थिएन । राम्रोसँग पढ्नै नपाई जाँच दिएकी थिएँ, पास भएकी रहेछु ।’ कोहलपुर–१ को कृष्ण माविबाट १२ कक्षा उत्तीर्ण भएको खबर पुष्टि भएपछि मन्जुको आत्मविश्वास त बढेको छ नै, परिवार र छरछिमेकीले दिएको बधाईले खुसी पनि उत्तिकै मिलिरहेको छ ।
नियमित स्कुल नगई १२ पास गरेकी मन्जु चौधरी ।
पाँच वर्षकी छोरी हुर्काउँदै श्रीमान्, सासूसुसुरासँग बस्दै आएकी मन्जुको पढाइ १३ वर्षअगाडि भारतबाट कक्षा १० को परीक्षा दिएपछि रोकिएको थियो । स्वास्थ्यका कारण र घर–व्यवहारले थिचिएपछि उनले पढाइ अगाडि बढाउन पाइनन् । ०६१ सालमा कोहलपुरस्थित अम्बेश्वरी केन्द्रमा बालविकासमा पढाउने अवसर पाइन् । पाँच वर्षमुनिका बालबालिकालाई सिर्जनात्मक बनाउन कलामार्फत अक्षर चिनाउने काम गर्दागर्दै उनको मनमा पनि आफ्नो पढाइलाई अघि बढाउने इच्छा अंकुराउँदै गयो ।
दुई वर्षअघि कृष्ण माविमा भर्ना भए पनि अरूजसरी नियमित स्कुल जान भने पाइनन् । किताबहरू घरमै ल्याएर पढ्न थालिन् । ‘साँझ–बिहान फुर्सद मिल्नेबित्तिकै पढ्ने बानी पर्यो,’ उनले सुनाइन्, ‘जसोतसो गरेर १२ पास भइयो ।’ हुर्किंदै गरेकी छोरीको भविष्य र राम्रो जागिरका लागि नपढी हुँदैन भन्ने बुझेरै आफ्नो छुटेको पढाइलाई निरन्तरता दिएको मन्जुले बताइन् ।
पाल्पाको भुवनपोखरीकी शारदा घर्तीमगरले ४९ वर्षको उमेरमा १२ कक्षा उत्तीर्ण गरेकी छन् । १९ वर्ष लाग्दै गर्दा परिवारले बिहे गरिदिएपछि उनको पढ्ने सपना पर धकेलिएको थियो । बिहेपछि ५ छोरी जन्मिए, स्याहारसुसारमै उनका दिन बिते । ०६३ सालयता भुवनपोखरीस्थित रैनादेवी माविमा बालकक्षा पढाउन थालेपछि उनलाई छुटेको पढाइको सम्झना आउन थाल्यो । एसएलसी पनि पास नगरेकाले बालकक्षा पढाउन हुन्न भन्ने कुरा सुरु भएपछि उनी ०७६ सालमा तानसेनको जनता माविमा खुला विद्यालयमा भर्ना भइन्, एसईई पास गरिन् । १।६ जीपीए ल्याएर पास गरेपछि उनलाई प्लस टु पढ्ने रहर लाग्यो ।
०७८ सालमा भैरव नवदीप माविमा ११ भर्ना भएकी उनले ०८० मा १२ कक्षा उत्तीर्ण गरिन् । तर, अंग्रेजीमा आएको थोरै नम्बरमा चित्त नबुझेपछि उनले यसको उत्तरपुस्तिका पुनः जाँच गर्न दिएकी छन् । ‘मुख्य कुरा मलाई जागिर छाड्न मन लागेन,’ उनले भनिन्, ‘दिउँसो पढ्ने समय नभए पनि बिहान–बेलुकी पढेर १२ कक्षाको जाँच दिएकी हुँ ।’ भुवनपोखरीकै झिरवासस्थित बालविनोद आधारभूत विद्यालयमा पढाउने श्रीमान् कुलबहादुरको हौसला र छोरीहरूको उत्साहले पढाइलाई अगाडि बढाएको शारदाले बताइन् ।
पूरक परीक्षामा पनि उस्तै उत्साह
साउन अन्तिम साता १२ कक्षाको परीक्षाफल प्रकाशित हुँदा म्याग्दीकी ५० वर्षीया भुलकुमारी रोका अनुत्तीर्ण भइन् । अंग्रेजीको लिखितमा न्यूनतम २७ अंक ल्याउनुपर्नेमा २१ मात्रै आयो । अहिले उनी पूरक परीक्षाको तयारीमा छिन् । ‘४२ वर्षको उमेरबाट कखरा चिन्न सुरु गरेकी हुँ,’ उनले सुनाइन्, ‘फेल भएपछि पीर परेको छ । अहिले सब काम छाडेर अंग्रेजी पढ्दै छु ।’
१९ वर्षको उमेरमा विवाह गरेकी उनले कहिल्यै स्कुल जान पाइनन् । नियमित विद्यालयबाट औपचारिक शिक्षा लिन नपाएका १५–६० वर्षकालाई शिक्षाको मूलधारमा जोड्न ०७२ सालमा बेनी सामुदायिक विद्यालय मातहत ‘उज्यालो वैकल्पिक विद्यालय’ खुल्यो । नपढी संसार बुझिन्न भन्ने बुझेपछि भुलकुमारीले अक्षर चिन्ने मौका पाइन् । पहिलो वर्षमै उनले अंग्रेजी अक्षर आधाउधीबाहेक कखरा, सामान्य हिसाबका जोडघटाउ सिकिन् । उनको मिहिनेतले गर्दा स्कुलले दोस्रो वर्ष तेस्रो तह ९कक्षा ५ सरह० मा राखिदियो । यसरी क्रमशः ०७७ मा पाँचौं तह ९‘ख’ १० कक्षा० अध्ययन गरिन् । ०७७ सालमा कोरोना महामारीका कारण भौतिक रूपमा परीक्षामा सहभागी नभई उनले एसईई उत्तीर्ण गरिन् ।
दुई छोरा र एक छोरी हुर्किसकेकाले र स्थानीय शिशु कल्याण माध्यमिक विद्यालयका निमावि तहका शिक्षक रहेका श्रीमान् मनबहादुरको साथ सहयोगले उनले घरमा पढ्ने समय पाएकी छन् । ‘बाल्यकाल गोठैगोठमा बित्यो । कालो अक्षर भैंसी बराबर भयो । छोराछोरी हुर्किने बेला श्रीमान् विदेश पसे,’ रोकाले एकै सासमा सुनाइन्, ‘सहरको बसाइ, पढाइ नहुँदा हरेक पाइलामा ठेस लाग्दा मनमा इख पलायो, त्यसैले पढी छोड्छु भनेर कस्सिएकी छु ।’
अंग्रेजीमा ननग्रेड रिजल्ट आएपछि म्याग्दीकी ५२ वर्षीया लक्ष्मी सापकोटा आगामी असोज ६ मा हुने पूरक परीक्षाको तयारीमा छिन् । १६ वर्षमा बिहे गरेकी उनले त्यतिबेलै पढ्ने रहर साँचेकी थिइन् । तर, ०४७र४८ तिर गाउँमा प्रौढ शिक्षा आएपछि श्रीमान्को सहयोगमा त्यहाँ जान थालिन् । अक्षर चिन्न थालेपछि उनका सन्तान भए । छोराछोरी ७–८ कक्षा पढ्ने भएपछि लक्ष्मी उनीहरूसँगै बरन्जास्थित महेन्द्ररत्न माविमा कक्षा ४ मा भर्ना भइन् । तर, ६ कक्षासम्म पढेपछि घर व्यवहारले उनको पढाइ छुट्यो । ०७० सालमा उनको परिवार म्याग्दीको सदरमुकाम बेनी झर्यो । लक्ष्मी ‘उज्यालो वैकल्पिक विद्यालय’को ५ कक्षामा भर्ना भइन् । ०७७ सालमा एसईई उत्तीर्ण गरिन् ।
सुत्केरी बुहारीको हेरचाह र घरको काम भ्याएरै उनी ११ कक्षा पास भइन् । १२ को परीक्षाको मुखैमा उनी बिरामी परिन् । परीक्षाको अघिल्लो दिन अस्पतालबाट डिस्चार्ज भएर पनि उनले परीक्षा दिइन् । बुढ्यौली उमेरको पढाइ, बिरामी अवस्थामा तयारीबिना पहिलो दिन नै अंग्रेजी विषयको परीक्षा अपेक्षित थिएन । रिजल्ट पनि उस्तै आयो । तर, लक्ष्मी आत्तिएकी छैनन् बरु जसरी भए पनि पास गरेरै छाड्छु भनेर कस्सिएकी छन् । ‘अरू विषय त सजिलै थियो । कटाएँ,’ उनले भनिन्, ‘अंग्रेजी लाग्यो । तैपनि हिम्मत हारेकी छैन, पूरक परीक्षामा अवश्य पास हुन्छु ।’ कान्तिपुरबाट