७२ वर्षमा एमए पास बमकुमारीको अनुभव : जीवन अपुरो भएन, पूर्ण पनि हुन सकेन



बुवा बितिसकेका थिए। आमाले भनिन्, ‘यति पढे तिमीलाई पुगिहाल्यो, अब आफ्नो काममा लाग।’ त्यसपछि बमकुमारीको आईए पढ्ने रहर केही वर्ष अधुरै रह्यो। २०३० सालमा उनले एसएलसी पास गर्दा गाउँभरि चर्चा भएको थियो। बमकुमारी रोल्पाबाट एसएलसी पास गर्ने पहिलो महिला हुन्।

उनकै घरमा पनि दिदीहरुले पढेनन्। घरजम गरेपछि प्रौढ शिक्षा पढेर साँवा अक्षर चिन्ने भएका थिए। स्कुल जाने छोरीको संख्या नै कति थियो र ‘म एक कक्षा भर्ना हुँदा ५/७ जना साथी थियौँ। एसएलसी दिने बेलासम्म त कतिको बिहे भैसकेको थियो,’ बमकुमारी सम्झना गर्छिन्।

उनै बमकुमारी अहिले चर्चामा छिन्। ७२ वर्षको उमेरमा स्नातकोत्तर गरेर दीक्षित भएकी उनलाई फोन उठाउन भ्याइनभ्याइ छ। लगातार फोनको घण्टी बजिरहेको छ। बमकुमारी फोन उठाउँछिन्, आभार प्रकट गर्छिन् अनि राख्छिन्। राखिनसक्दै अर्को फोन आइहाल्छ।

‘मान्छेको पनि सिजन हुँदो रहेछ। थुप्रै भाइ–बहिनीले भेट्छु, अन्तर्वार्ता लिन्छु भनेर फोन गरिरहनु भएको छ। मेरो सिजन चलेको छ। अब पछि भेट्छु भन्न पनि नमिल्ने,’ बमकुमारी लामो हाँसो हाँस्छिन्। त्यसो त बमकुमारीसंँग बधाई थापेका थुप्रै अनुभव छन्। २०३० सालमा एसएलसी पास गर्दा होस् वा २०३९ मा राष्ट्रिय पञ्चायत सदस्य बन्दा, बमकुमारीले यसैगरी बधाई थापेकी थिइन्।

स्नातकोत्तर सक्न बमकुमारीलाई १४ वर्ष लाग्यो। उनले त्रिभुवन विश्वविद्यालयले बेला–बेला प्रदान गर्ने मौका परीक्षामा सामेल भएर स्नातकोत्तर पास गरेकी हुन्।

भन्छिन्, ‘मलाई विषय लागिरह्यो। रिसर्च मेथोडोलोजी भन्ने विषय सक्न सकस नै पर्यो। तर, हार खाइनँ। मैले हार खाएर उहिल्यै पढाइ छोडेको भए आज यसरी मानिसहरुले मलाई सम्झने बाटो हुन्थ्यो त!’

सामाजिक सञ्जालमा भैरहेको आफ्नो चर्चा देखेर उनलाई भेट्न पुग्नेहरु धेरै छन्। तीसँग उनी आफ्ना पुराना दिन सम्झना गरिरहेकी थिइन्।

उहिलेका कुरा
‘मैले एसएलसी पास गरेको समयमा छोरी मान्छेलाई मान्छे कहाँ गन्थे र?’ बमकुमारीले आफ्नो समय सम्झिन्छन्। उनले छोरी मान्छे स्कुल गएको दृश्य देखेकी होइनन्। तर अक्षरले उनलाई तानिरहन्थ्यो। उनका जेठा दाजु त्यो समयका बहिदार। एकदिन बहिनीले किताब लिएर बसेको देखे दाइले। त्यसपछि उनका दाइले पाटीमा ‘क, ख….’ लेखिदिए। बिस्तारै पढ्न सिकाए। दाजुले आमालाई पनि पढ्न सिकाएका थिए। उनकी आमा आफ्नो नाम आफैँ लेख्थिन्। आमाकै निर्देशनमा बमकुमारी स्कुल भर्ना भइन्। १६ वर्षको उमेरमा बमकुमारीले पहिलो पटक स्कुल टेकेकी हुन्।

दाङको पद्मोदय पब्लिक बहुउदेश्यीय माध्यमिक विद्यालयबाट एसएलसी दिएकी बमकुमारीले आफ्नो रिजल्ट सुन्न २ घण्टा रेडियोमा कान थापेर बसेको स्मरण सुनाइन्। एसएलसी दिएसँगै रोल्पाको तालाबाङमा शिक्षण गर्न पुगेकी बमकुमारीसँग त्यो बेला साथमा रेडियो पनि थिएन।

‘घरबाट हिँडेर दिनभरि नै लाग्थ्यो पढाउन गएको ठाउँ। मेरो घरबेटीको रेडियो थियो। रेडियोले एसएलसीको रिजल्ट भयो भन्यो। त्योपछि सिम्बल नम्बर भन्न थाल्यो। झण्डै २ घण्टापछि मेरो नम्बर रेडियोले फुक्यो। म त भक्कानिएजस्तो, नर्भस भएजस्तो भएछु। रेडियो नै बन्द गरेँ,’ बमकुमारीले सुनाइन्।

उनलाई आफू पास भएको खबर पहिलो पटक आमालाई सुनाउन मन थियो, तर सम्भव थिएन। बमकुमारी टेस्ट परीक्षा दिने तयारीमा थिइन्। उनकी आमा उनीसँगै दाङमा थिइन्। यता रोल्पामा उनका बुवा बिते। आमाले भनिन्, ‘मर्ने मरेर गैसके, आफ्नो पढाइ बिगारेर गाउँ जानु पर्दैन।’

आमा एक्लै गाउँ गइन्।

‘आमाले कुन हिम्मतले त्यो भन्नु भयो होला। आमाको पढाइप्रति कति ठूलो लगाव थियो। म पास भएको खबर पहिलो पटक आमालाई सुनाउन पाएको भए कस्तो हुन्थ्यो भन्ने त लागेको थियो,’ उनले भनिन्, ‘तर, सबै सपना त कहाँ पुरा हुने रहेछन् र। त्यसको एकसातापछि मात्रै आमासँग मेरो भेट भयो। आमाले अरु केही भन्नु भएन, मेरी लाटी मात्रै भन्नु भयो।’

२ वर्ष तालाबाङ र बुढागाउँ २ वर्ष पढाएपछि उनी सदरमुकाम लिबाङमा रहेको बाल कल्याण विद्यालयमा शिक्षिका भएर आइन्।

अनि राजनीति
बाल कल्याण विद्यालयमा उनको भेट कृष्णबहादुर महरासँग भयो। महरा सोही स्कुलमा पढाउँथे। यो भेटले उनलाई राजनीतिक चेत दियो। २०३९ मा राष्ट्रिय पञ्चायत सदस्यको चुनाव जितिन्।

२०४३ मा पनि राष्ट्रिय पञ्चायतको चुनावमा होमिएकी बमकुमारी पराजित भइन्। पहिलो संविधान सभा विघटन भएपछि बनेको सामाजिक लोकतान्त्रिक पार्टीको संस्थापक सदस्य रहेकी बमकुमारीमा यो पार्टी विभाजनपछि राजनीतिमा वितृष्णा जाग्यो। राजनीति छाडेर सामुदायिक र सांस्कृतिक उत्थानको काममा लागिन्। लामो समय राजनीति र समाज सेवामा बिताएकी बमकुमारीले विवाह भने गरिनन्।

आमा गएपछि एक्लो
आमा हुँदासम्म पीर गरिहन्थिन्। भन्थिन्, ‘तैँले घर बसालेको हेरेर मर्ने मन छ।’ बमकुमारीलाई भने आमा हुनुहुन्छ भन्ने लाग्थ्यो। काठमाडौँ आएपछि लामो समय उनी आमासँगै बसिन्। तर, जीवनको अन्त्यतिर आमाले गाउँमै मर्ने इच्छा व्यक्त गरिन्। आमाको मृत्यु भएको ५ दिनपछि मात्रै बमकुमारी घर पुगिन्। बुवा बित्दा आमा साथमा थिइन्। आफू जवान। बमकुमारीलाई उनको मृत्युले त्यति बिझाएन। आमा बितेपछि उनलाई एक्लोपनले सतायो।

‘सबै गरियो जस्तो लाग्थ्यो। जीवन त खालीखाली पो रहेछ भन्ने लाग्यो। १ वर्षसम्म टाउकोमा केले थिचेको जस्तो भयो। विवाह नगरेकोमा पछुतो चाहिँ लागेन। तर एक्लोपनले धेरै सतायो,’ बमकुमारीले एक्लोपनको उदासी साटिन्।

‘विवाह चाहिँ किन नगर्नु भएको ’

बमकुमारी भन्छिन्, ‘ऊ बेला पढेलेखेका सक्षम छोरीलाई कसले विवाह गर्थ्यो र? आफूले पनि आफूसरहका हेरिएन, आफूभन्दा माथिकासँग सधैँ प्रतिस्पर्धाको भावना मात्रै आयो। उमेर हुँदासम्म त जीवन यस्तै बलवान छ भन्ने पनि हुने रहेछ।’

बमकुमारीलाई जीवनमा उति धेरै पश्चाताप छैन। तर, आमालाई सुनाउन नपाएका खुसी र देखाउन नपाएका प्रगतिले भने मन पोलिरहन्छ।

‘सरासर पढ्न सकेको भए, बेलैमा पास गर्न सकेको भए मेरो दीक्षान्त समारोहमा लगेर आमाको फोटो खिचाउँदी हुँ। आमा कति खुसी हुनुहुन्थ्यो होला। मैले पढ्न सुरु गरेको मेरो सपनाले भन्दा आमाको सपनाले हो,’ आमालाई सम्झिँदै गर्दा बमकुमारीका आँखा आँसुले भरिन्छन्।

एक्लो बुढेसकाल काटिरहेकी बमकुमारीका हिजोआजका दिन सहज भएका छन्। मानिसहरु बधाई दिन फोन गरिरहेका छन्। आशीर्वाद थाप्न भन्दै घरसम्मै केटाकेटी आइरहेका छन्। यो पनि केही क्षणका लागि मात्रै हो भन्ने बमकुमारीलाई थाहा छ।

भन्छिन्, ‘यही नाति (भदैको छोरो) साथी छ। अहिले धेरै जना आइरहेकाले दिन काट्न पनि सहज भएको छ। यो पनि सिजनेबल कुरा त हो। केही दिनमा चर्चा सकिन्छ, अनि उही आफ्नो दैनिकी बाँकी रहन्छ।’ नेपाल खबरबाट