मानिसको हेर्ने दृष्टिकोणसँग सम्बन्धित निकै प्रचलित उदाहरण अंग्रेजीमा लेखिने अंक ‘सिक्स’ हो । एउटै अंकलाई फरक दिशाबाट हेर्दा फरक देखिन्छ । एकातिरबाट हेर्दा ‘नाइन’ देखिन्छ भने, अर्कातिरबाट हेर्दा सिक्स । नेपालको शिक्षाको विद्यमान अवस्थालाई हेर्ने दृष्टिकोणमा पनि यस्तै देखिन्छ । अलिअघि कक्षा १२ को नतिजा प्रकाशित भयो । परीक्षामा सहभागीमध्ये ५२ प्रतिशत विद्यार्थीहरू उच्च शिक्षामा प्रवेश नपाउने अवस्थामा थिए । बाँकी ४८ प्रतिशतले त पाए नि भनेर हेर्ने वा ५२ ले पाएनन् भनेर हेर्ने ? भर्ना हुन पाउने ४८ प्रतिशतमध्ये सामुदायिकका २८ प्रतिशतलाई हेर्ने वा संस्थागतका ७२ प्रतिशतलाई हेर्ने ? मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको हेर्ने वा वाग्मतीको ? ग्रामीण क्षेत्र हेर्ने वा सहरी क्षेत्र ? सामाजिक, आर्थिक अवस्था राम्रो भएकाहरूको हेर्ने कि कमजोर समूहको ? यी सबै हाम्रा दृष्टिकोण हुन् । नकारात्मक नसोचौं, नकारात्मक कुरा नगरौं पनि भन्न सकिन्छ तर शिक्षाको यो कमजोर सिकाइको अवस्थालाई पनि नकारात्मक रूपमा नहेर्ने र कुरा नगर्ने हो भने हाम्रो अवस्थामा सुधार हुन कठिन मात्र होइन, असम्भवप्रायः छ ।
कक्षा १२ मा देशभरिका ५२ प्रतिशत विद्यार्थी असफल भए । विद्यालयका लागि केही प्रतिशत असफल भए । तर जो असफल हुने विद्यार्थी र अभिभावकका लागि उक्त असफलता शत प्रतिशत नै हो । त्यसैले शिक्षाको असफलता वा कमजोरीलाई जम्मा अंकमा जोडेर असफल भएको प्रतिशतलाई सानो देख्ने र बेवास्ता गर्ने प्रवृत्तिमा सुधार नगरी हाम्रो शिक्षामा सुधार आउन सक्दैन । कक्षा १० को नतिजा पनि निकै कमजोर आएको थियो, उक्त नतिजाको कमजोरीलाई कोभिडले पु¥याएको क्षतिका रूपमा व्याख्या गरियो । कतिपय सन्दर्भमा हाम्रो अवस्था सधैं यस्तै हो, बिग्रेको छैन पनि भनियो । कमजोरीको कुरा धेरै नगरौं पनि भनियो । सिद्धान्तमा त कुरा ठीकै हो, कमजोरीको कुरा गर्नु हुँदैन, नकारात्मक कुरा गर्नु हुँदैन तर यथार्थमा यसले हाम्रो भविष्यलाई सही मार्गनिर्देश गर्दैन । यो वर्षको सिकाइको कमजोरी कोभिडले भनिएला तर कोभिडले सिकाइमा पारेको प्रभाव अझै ८ वर्षसम्म देखिनेछ । सिकाइको यो कमजोर अवस्था कोभिडको प्रभावले मात्र भएको होइन, साना कक्षाबाटै कमजोर हुँदै माथि गएको हो । साना कक्षामा ध्यान दिएका छैनौं, कमजोरीका कुरा गरेका छैनौं, नकारात्मक नबनौं भन्दै यो अवस्था माथिसम्म आइपुगेको छ । कमजोरी खोजी गर्ने र सुधार गर्नेभन्दा लुकाउने प्रवृत्ति बढ्दै गएको छ । पालिका तथा विद्यालयहरूमा सिकाइ उपलब्धिका वास्तविक नतिजाहरू पाइँदैन र राष्ट्रिय परीक्षा बोर्डले पनि खण्डीकृत तथ्यांकहरू सार्वजनिक गर्दैन । हाम्रो अहिलेको हालतभन्दा धेरै राम्रो अवस्थामा हुँदा पनि अमेरिकाले सन् १९८३ मै ‘नेसन एट रिस्क’ भनेर शिक्षामा सुधार प्रयास गरेको थियो । यस्तै, जर्मनीले सन् २००० मा पिसा टेस्टको नतिजालाई आधार बनाई ‘पिसा सक’ का रूपमा शिक्षामा उल्लेखनीय सुधार गरेका उदाहरणहरू छन् । कमजोर सिकाइका तथ्यांकहरूलाई गहिरो गरी अध्ययन गर्ने हो भने हाम्रो अवस्था निकै कमजोर र जोखिमपूर्ण छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शैक्षिक सत्र २०७६ सालको अन्त्यमा देशभरका ३३ जिल्लाका ५८० विद्यालयबाट ७,४३३ विद्यार्थीहरूमा पढाइ तथा गणितीय सीप परीक्षण सञ्चालन गरेको थियो, जसमा कक्षा ३ को अन्त्यमा पुगेका १० प्रतिशत विद्यार्थीले दिइएको अनुच्छेदको एउटा शब्द पनि पढ्न सकेनन् । यसै गरी १ देखि १५ वटासम्म शब्द पढ्ने विद्यार्थीको प्रतिशत २८ र १६ देखि ४४ सम्म शब्द पढ्ने विद्यार्थीको प्रतिशत ४३ थियो । ती बालबालिका अहिले कक्षा ६ मा अध्ययन गर्दै छन् । केही प्रतिनिधि उदाहरणलाई आधार बनाउँदा कक्षा ६ मा पुगेका थुप्रै बालबालिकाले अहिले पनि नेपाली भाषाका सरल अनुच्छेद पढ्न र गणितका साधारण हिसाब (गुणन, भाग) गर्न सक्दैनन् । यूएसएआईडीको सहयोगमा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले गरेको अनुसन्धानमा पनि परियोजना लागू भएका जिल्लाका कक्षा ३ का २४ र परियोजना लागू नगरिएका जिल्लाका ४१ प्रतिशत विद्यार्थीले एउटा शब्द पनि पढ्न नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो । साना कक्षाको सिकाइसँग सम्बन्धित यस प्रकारको तथ्यांकमा हाम्रो ध्यान पुग्न सकेको छैन ।
असर नेपालले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको कर्णाली प्रदेशका २,१११ बालबालिकामा गरेको सर्वेक्षण अनुसार कक्षा ५ मा अध्ययन गर्ने ५० प्रतिशतभन्दा बढी बालबालिकाले कक्षा ३ को स्तरको सिकाइ हासिल गरेका छैनन् । देशभरका १० पालिकाबाट पंक्तिकारले संकलन गरेको २०७८ सालको कक्षा ८ को नतिजाको तथ्यांक अनुसार तोकिएको मापदण्ड हासिल गरेर कक्षा ९ मा जाने विद्यार्थीको प्रतिशत ४ देखि १८ सम्म पाइएको थियो । लुम्बिनी प्रदेशको एउटा पालिकामा न्यूनतम ३५ देखि २०० अंकसम्म कृपांक दिएर कक्षा उत्तीर्ण गराइएको थियो । यस्तै, वाग्मती प्रदेशको एउटा पालिकामा ३ प्रतिशतले मात्र तोकिएको मापदण्ड पूरा गरेको अवस्था आएपछि पालिकाले नतिजा प्रकाशन नगरी सम्पूर्ण उत्तरपुस्तिका विद्यालयलाई फिर्ता गरेर सबैलाई कक्षा चढाइएको थियो । गण्डकी प्रदेशको एउटा पालिकाले औपचारिक नतिजा प्रकाशन नै नगरी विद्यालयलाई सोझै इमिस प्रणालीमा अंक चढाउन पठाएको थियो एवं यसबाट पालिका र विद्यालयबीच द्वन्द्वसमेत उत्पन्न भएको थियो ।
औपचारिक शिक्षामा संरचित पाठ्यक्रम अनुसार तोकिएका सिकाइ उपलब्धि र तिनको परीक्षण गरिन्छ । विद्यार्थीले हासिल गरेको सिकाइ उपलब्धि नै पाठ्यक्रमको कार्यान्वयन अवस्था हो । शिक्षालाई सिकाइ उपलब्धिमा मात्र सीमित गरिनु हुँदैन र गर्न मिल्दैन तर औपचारिक शिक्षाको वस्तुगत मापन गर्ने आधार भनेकै सिकाइ उपलब्धि हो र यो संसारभर प्रचलनमा छ । विद्यालय शिक्षाको उपलब्धि साना कक्षाबाटै कमजोर हुँदै माथिसम्म गइरहेको छ र एकले अर्कालाई दोषारोपण गर्ने संस्कार बढिरहेको छ । माध्यमिक तहमा अध्यापन गर्ने शिक्षकहरूले कक्षा ९ मा आधारभूत कुराहरू सिकाउनुपरेको गुनासो गर्छन् । आधारभूत तह (कक्षा ६–८) मा अध्यापन गर्ने शिक्षकहरूले प्राथमिक तहबाटै कमजोर विद्यार्थी आएको गुनासो गर्छन् । प्राथमिक तहका शिक्षकहरू अभिभावकले नै ध्यान दिएनन् भन्छन् । शिक्षक र विद्यालयले सरकार र अभिभावकको कमजोरी देखाउँछन्, सरकार शिक्षक र विद्यालयको कमजोरी औंल्याउँछ । खासमा हामी सबैले आफ्नो भूमिका र जिम्मेवारी बिर्सिरहेका छौं । एउटै विद्यालयमा माथिल्लो कक्षामा पढाउने शिक्षकले तल्लो कक्षामा पढाउनेलाई दोषारोपण गरिरहेका छौं ।
सिकाइको आधार भनेका साना कक्षा हुन् । तर हाम्रो शिक्षा प्रणालीले साना कक्षा, साना विद्यालय, साना कक्षाका शिक्षक र सिकाइलाई उपेक्षा मात्र गरेको छ । प्रारम्भिक बाल विकास कक्षाका शिक्षकहरूको तलब–भत्ता, साना कक्षाको बसाइ व्यवस्थापन, साना कक्षाका बालबालिकाको सिकाइ र शिक्षकको क्षमता विकासलाई सधैंजसो बेवास्ता गरिन्छ । कक्षा १० र १२ को नतिजालाई जति महत्व दिइन्छ, कक्षा १, ३, ५ को सिकाइलाई पनि त्यत्तिकै महत्व दिन सके सिकाइ यति कमजोर हुँदैनथ्यो । माध्यमिक तहका विद्यालयको भौतिक पूर्वाधारमा जेजति लगानी गरिएको छ, त्यसको सानो अंश मात्र साना विद्यालयमा लगानी गर्न सके त्यसको प्रभावकारिता धेरै हुने थियो । तोकिएका न्यूनतम सक्षमता हासिल नभएका आधारभूत विद्यालयको संख्या ठूलो छ । साना कक्षामा बालबालिकालाई बस्ने बेन्चसमेतको अभाव भइरहँदा ठूला विद्यालयमा सीसीटीभी र सेनिटरी प्याड झार्ने भेन्डिङ मेसिन जडान भइरहेका छन् ।
सिकाइ सुधारको थालनी साना कक्षाबाटै गर्नुपर्छ । सरकारी लगानीको प्राथमिकीकरण गर्नु आवश्यक छ । सिकाइ कमजोर हुनुका कारणका रूपमा निरन्तर विद्यार्थी मूल्यांकन, उदार कक्षोन्नति र प्रमाणीकरणको अक्षरांकन विधिलाई दोष लगाउने गरिन्छ । सिकाइ सुधारका लागि गुणस्तरीय प्रयासहरू भएका छैनन् । लगानीको प्राथमिकतामा सिकाइमा भन्दा पूर्वाधारमा छ । धेरै विद्यालयमा अझै पनि सफा पिउने पानी, शौचालय, पुस्तकालय, प्रयोगशाला, पढाउने शिक्षक, सुरक्षित कक्षाकोठाजस्ता न्यूनतम आधारभूत सुविधा छैनन् । कक्षाकोठाको सिकाइसँग खासै सम्बन्ध नहुने सीसीटीभीमा अर्बौं खर्च भइरहेको छ । साना कक्षाबाट गरिने प्रयासहरूबाट मात्र माथिल्लो कक्षाको सिकाइ सुधार हुनेछ ।
कक्षाकोठाको सुधारकेन्द्रित प्रयास र सिकाइका लागि जवाफदेह हुने पद्धति आवश्यक छ । तीनै तहका सरकारले आआफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गर्नुका साथै सिकाइका लागि कसको भूमिका के हुने भन्ने स्पष्ट बनाउनु आवश्यक छ । कमजोर सिकाइका लागि निरन्तर विद्यार्थी मूल्यांकन, उदार कक्षोन्नति र प्रमाणीकरणको अक्षरांकन विधि साँच्चिकै कारक र दोषी हुन् भने यिनको विकल्प खोज्न पनि तयार हुनुपर्छ । त्योभन्दा पहिले कमजोर सिकाइको कारण के हो भन्नेमा प्रभावकारी अध्ययन–अनुसन्धान जरुरी छ । विद्यालय शिक्षाको सिकाइ सुधार गर्न ढिलो हुँदै छ ।(कान्तिपुरबाट)
-देवीराम आचार्य