बाँके : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले स्तरीकृत परीक्षाको पहुँच ७५३ पालिकामा पुर्याउन लागेको बताएका छन् । बिषयगत रुपमा प्रशिक्षक तयार गरी देशभरका पालिकामा स्तरीकृत परीक्षा मार्फत बालवालिकाको सिकाइ मूल्यांकन गर्न थालिएको उनले बताए । बोर्डका अध्यक्ष शर्माले स्तरीकृत परीक्षाले बालवालिकामा घोक्ने प्रवित्ति हट्ने बताए । परीक्षा प्रणाली सही नहुँदा बालवालिकाको वास्तविक सिकाइ परीक्षण हुन नसकेको बताउँदै उनले त्यसका लागि स्तरीकृत परीक्षा उपयुक्त तरिका भएको बताए ।
स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण शिप विकास सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीको बाँकेको कोहलपुरमा उद्घाटन गर्दै अध्यक्ष महाश्रम शर्माले स्तरीकृत परीक्षाको सीप परीक्षा बोर्डले पालिकासम्म पुर्याउने कामको थालनी गरेको बताए । अहिलेको परीक्षा प्रणालीले ५० प्रतिशत बालवालिकाको मात्रै सिकाइ मापन गर्न सक्षम भएको बताए ।
अध्यक्ष शर्माका अनुसार प्रशिक्षक प्रशिक्षणपछि देशभरका ७५३ पालिकाका शिक्षकलाई स्तरीकृत प्रश्नपत्र बनाउने तालिम संचालन हुनेछ । पालिकाले पालिका स्तरमा प्रश्नपत्र बैंक तयार गर्नेछन् । अहिले विद्यालयको कक्षा ६ देखि ८ लाई लक्षित गरि प्रशिक्षण संचालन गरेको भएपनि विद्यालय तहमा प्रश्नपत्र बनाउनमा सहयोग पुग्नेछ । यसरी बालवालिकाको मूल्याकंन हुदा देशभरका पालिकाका बालवालिकाको एउटै तरिकाले मूल्याकंन हुने र पालिका पालिकाबीच नतिजाको तुलना गर्न सकिनेछ । तालिमले स्तरीकृत परीक्षा संचालन गर्ने क्षमता पालिकासम्म पुग्ने, मूल्याकंन तरिकामा ज्ञान मात्रै होइन सबै पक्षको मूल्याकंन हुने उनले बताए । त्यसैगरी घोक्ने प्रवृत्ति घट्ने र बालवालिकाले आफ्नो मौलिक तरिकाले उत्तर लेख्न सक्नेछन् ।
कार्यशालामा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका २५ जिल्लाका गणित, बिज्ञान र अंग्रेजी बिषयका शिक्षकहरु सहभागी छन् । तीन दिनसम्म चल्ने कार्यशाला गोष्ठिमा बिषयगत विज्ञ शिक्षकका तर्फबाट अंग्रेजी बिषयका कमलराज देवकोटा, शिप विकास ईकाइ बर्दियाका प्रमुख महेश देवकोटा, पुर्व परीक्षा नियन्त्रक अर्जुन बहादुर रायमाझि लगायतले स्तरीकृत परीक्षाको बिषयमा बोलेका थिए । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित तीन दिने गोष्ठिको ब्यबस्थापन राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर शाखाले गरेको छ ।